arrow

बालमैत्री शासन निमार्णमा बगनासको तदारुकता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
balmaitri.jpg

पाल्पा । स्थानीय सरकार निर्माणसँगै कृषिको विकास र विस्तारमा जिल्लामै अग्रणी बन्दै आएको बगनासकालि गाउँपालिकाले बालमैत्री  स्थानीय शासनलाई पनि अवलम्बन गर्दै आएको छ । स्थानीय तहको शासन बालमैत्री बनाउन गाउँपालिकाले बालमैत्री शासनलाई तदारुकता देखाएको हो ।

 गाउँपालिकाले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताजस्ता बाल अधिकारका सवाललाई स्थानीय निकायको नीति, संरचना, प्रणाली र कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने  उद्देश्यले पालिकामा बालसञ्जाल गठन गरी अगाडि बढेको छ  । बाल अधिकारलाई मुल प्रवाहीकरण गरी उनीहरुको अधिकार सुनिश्चित गर्न बालमैत्री स्थानीय शासन कार्यक्रमलाई अवलम्वन गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए ।

गाउँपालिकाले  आगामी २०७६ सालको भाद्र २९ गते राष्ट्रिय बालदिवसको अवसर पारेर बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री शासन निर्माणका लागि गाउँपालिकाले एक करोड रकम विनियोजन गरेर काम अगाडि बढाएको अध्यक्ष बस्यालले जानकारी दिए । उनले भने  ‘बालमैत्री कार्यक्रम अन्र्तगत शिक्षा र स्वास्थ्य क्षेत्रमा यो रकम  विनियोजन गरिएको हो ।’

गाउँपालिका भित्रका सबै बालबालिकालाई बिद्यालय पठाउने, कुनै पनि बालबालिकालाई कुटपिट हेला, दुव्र्यवहार, अपहेलना नगर्ने, गर्भवती महिलालाई घरपरिवारले विशेष स्याहार र नियमित गर्भजाँच गराउने, बालबालिकालाई कुनै पनि जोखिमपूर्ण काममा नलगाउने, बालविवाह रोक्न, बालश्रम अन्त्य गर्ने  जस्ता अभियान गाउँपालिकाले अगाडि सारेको छ । बाल मैत्री स्थानीय शासन निर्माण गर्ने  क्रममा  गाउँपालिकाले बुधबार एक कार्यक्रमका बिच पालिका स्तरिय बाल सञ्जाल गठन गरेको छ ।

 यस अघि वडास्तरमा सञ्जाल गठन गरेको गाउँपालिकाले  प्रशान्त न्यौपानेको अध्यक्षतामा ११ सदस्यी बाल सञ्जाल गठन गरेको हो ।  जसको उपाध्यक्षमा ईन्दु गाहा, सचिव बसन्ती राना, कोषाध्यक्ष दिनेश पाण्डे, सदस्यहरुमा गिरिजा खडाल, गनबहादुर गाहा, सिर्जना घिमिरे, रिता भट्राई, मञ्जिला बस्याल, रामप्रसाद बस्याल र खुशी ढुंगाना रहेका छन् । कार्यक्रममा नव नियुक्त पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिर्दै अध्यक्ष बस्यालले सबै एक भएर लाग्न आग्रह गरेका छन् । उनले भने ‘समयमै बालमैत्री स्थानीय शासन घोषणा गरी नेपालमै पहिलो बालमैत्री स्थानीय शासन भएको गाउँपालिका रुपमा स्थापित गर्न  सबैको सहयोगको अपेक्षा गरेका छौं ।’

यसै बिच प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले अन्य स्थानमा प्राप्त गरेको ज्ञान र सीप बगनासकालीमा लगाई नेपालकै पहिलो गाउँपालिका वनाउने  अभियानमा वडास्तर देखि नै  सबै लाग्नुपर्नेमा  जोड दिए । कार्यदलका संयोजक मणी प्रसाद खनालले हाल सम्म भएका काम र आगामी  कामहरुका विषयमा जानकारी गराए । वडा सचिव हरुको तर्फवाट युवराज पाण्डेले अभियानमा  सबैको साथ रहने बताए  । ३६ जना सहभागी रहेको कार्यक्रमको अध्यक्षता अध्यक्ष कृष्ण प्रसाद वस्याल र बालमैत्री स्थानीय शासनका फोकल पर्सन मनोज आचार्यको सञ्चालनमा  भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ