क्रुरता र अन्यायको १०० दिन: शुक्रबार सम्झिईंदैछ निर्मलालाई
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
350
Shares
काठमाडौं । कञ्चनपुरको भीमदत्तनगरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार एक सय दिन पुग्दैछ । तर पनि निर्मम तरिकाले बलात्कार पछि हत्या गर्ने हत्याराहरुलाई समेत दई तिहाईको सरकारको नालायकीपनाका कारण पक्राउ गर्न सकिएको छैन ।
गरिएको बलात्कार पछिको हत्यारालाई यति धेरै दबाब हुँदा सम्म पनि कारबाही हुन सकेको छैन । यसमा सरकारले नै हत्यारालाई आश्रय दिएको भन्ने लगभग निश्चित नै छ ।
प्रहरीले हत्यामा संलग्न भएको आरोपमा भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई ४ भदौ सार्वजनिक गरेको थियो । १० वर्ष अघि आफ्नै भिनाजुको हत्या गरेका दिलिप मानसिक सन्तुलन गुमाएका व्यक्ति भएकाले घटनामा उनको संलग्नता नरहेको भन्दै स्थानीयले आन्दोलन गरे ।
दिलिपको मानसिक अवस्था ठिक भए नभएको प्रमाणित गर्न प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाएको थियो । यो मुद्दामा पटक पटक म्याद थपेर अनुसन्धानको नाटक गरेको भएपनि सबैले चिनेका हत्यारालाई प्रहरीले अझै चिन्न सकेको छैन । प्रहरी यति नतमस्तक बनिरहेको बेला शुक्रबार साँझ काठमाडौंमा निर्मलाको सम्झनामा दीप प्रज्वलन गरिने भएको छ ।
निर्मलाका निम्ति न्याय अभियानले आयोजना गरेको सो कार्यक्रम शुक्रबार साँझ ५ बजे पाटन कृष्ण मन्दिरमा आयोजना गरिने आयोजकले जनाएको छ । निर्मला पन्तको न्यायको लागि महिला अधिकारवादी मात्रै नभएर देशका विभिन्न स्थानमा हजारौ स्वतन्त्र नागरिकहरुले आन्दोलनको आवाज उठाए पनि अहिलेसम्म पनि निर्मलाको हत्यारामाथि कारबाही भएको छैन ।