रूसद्वारा यूक्रेनी राजनीतिज्ञ तथा व्यवसायीविरूद्ध प्रतिबन्ध

एएफपी, प्रकाशित मिति : २०७५ कार्तिक १५ बिहिबार
तस्बिर : फाइल

मस्को, रूस। रूसले सयौँ यूक्रेनी नागरिक तथा दर्जनौँ कम्पनीविरूद्ध बिहीबार आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। प्रतिबन्ध यूक्रेनले रूसमाथि लगाएको पछिल्लो आर्थिक प्रतिबन्धको प्रतिरोधस्वरूप आएको मस्कोले जनाएको छ। प्रधानमन्त्री दिमित्री मेदभेदेभले सरकारी सञ्चारमाध्यममा प्रकाशित प्रतिबन्धसम्बन्धि उक्त कागजातमा अस्ताक्षर गरेका छन्। पत्रमा ३२२ जना यूक्रेनी नागरिक तथा ६८ व्यापारिक प्रतिष्ठानको सम्पत्तीलाई रोक्का गर्ने जनाइएको छ।

सम्पत्ती रोक्का गरिएका तथा रूससँग आर्थिक कारोबारका लागि प्रतिबन्ध लगाइएका व्यक्तिहरूमा यूक्रेनका पूर्व प्रधानमन्त्री यूलिया टाइमोसेन्को तथा गृहमन्त्री आर्सेन अभाकोभ लगायत रहेका पत्रमा जनाइएको छ। त्यसैगरी रक्षा मन्त्री र यूक्रेनी सभामुखलाई पनि प्रतिबन्ध लगाइएको छ।

रूसले प्रतिबन्ध लगाएका कम्पनीहरूमा अधिकांश रासायनिक कम्पनी तथा खानीजन्य कम्पनी परेका पनि मस्कोले जनाएको छ। मस्कोले रूसी नागरिक तथा कानूनी निकायमाथि यूक्रेनमा शत्रुवत व्यवहार देखाएको दावी गर्दै उनीहरूलाई आर्थिक प्रतिबन्ध लगाइएको जनाएको छ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले यदि कीभको तर्फबाट सम्बन्धलाई सामान्यिकरण गर्ने राजनीतिक पहल व्यक्त भएमा प्रतिबन्धलाई हटाउन आफुहरू तयार रहेको जनाएका छन्।

रूसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेश्कोभले सञ्चारकर्मीसँगको नियमित जानकारीमा यूक्रेनी अधिकारीबाट तत्काल प्रतिबन्ध हटाउने पहलका लागि केही नजनाएको बताए।

यूक्रेनी पूर्व प्रधानमन्त्रीले आफ्नो रसियासँग कुनै व्यवसायिक उपस्थिति नरहेकोले यसबारे ‘खासै चासो’ नराखेको बताए। यसैबीच यूक्रेनी राजनीतिक विश्लेशक भोलोदिमिर फेसेन्कोले भने कीभका धेरै अधिकारीलाई प्रतिबन्धको सूची सम्मानको चिन्ह्का रूपमा लिने भन्दै प्रतिबन्धप्रति हल्का टिप्पणी जनाए।

फेसेन्कोले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यूक्रेनी अधिकारीलाई महत्वको कुरा सूचीमा को छ भन्दा पनि को छैन भन्ने हो । सूचीमा भएका अधिकारीहरूलाई निर्वाचनमा विजय प्राप्त गर्न सजिलो हुनेछ।”

रूसले सन् २०१४ मा क्रिमियालाई गाभेपछि यूक्रेनसँगको विवादले थप सशक्तता पाएको छ। मस्कोले पूर्वी यूक्रेनमा भएको विद्रोहमा यूक्रेनले सघाएको आरोप लगाएको छ। पूर्वी यूक्रेनमा भएको विद्रोहमा कम्तीमा १० हजार व्यक्तिको ज्यान गुमेको थियो।

कीभले रूसी कम्पनीलाई आफ्नो भूभागमा नियन्त्रण गर्न विभिन्न उपायहरू ल्याएको छ। गत बर्ष उसले रूसी प्रसिद्ध सामाजिक सञ्जाल तथा ‘सर्च इन्जिन’ यान्डेक्सको पहुँचमा रोक लगाएको थियो। लाखौँ यूक्रेनीले प्रयोग गर्ने उक्त सामाजिक सञ्जालमाथिको प्रतिबन्धले कम्पनीलाई प्रभावित तुल्याएको थियो।

संयुक्त राज्य अमेरिका र यूरोपले यूक्रेनविरोधी गतिविधि गरेको आरोपमा धेरै चरणमा रूसमाथि प्रतिबन्ध लगाएका छन्।

नयाँ