arrow

पाल्पाको तालपोखरा र रम्भादेवी मन्दिर नयाँ गन्तव्यको सूचीमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
palpa-temple1.jpg

पाल्पा। पाल्पाको रामपुरमा रहेको तालपोखरा र रम्भादेवी मन्दिर सरकारले सार्वजनिक गरेको नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका छन्। सरकारले ओझेलमा परेका नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएर घोषणा गरेको १ सय गन्तव्य पर्यटकीय स्थलमध्ये पाल्पाका यि दुई ऐतिहासिक पर्यटकीय स्थलहरु नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबार एक विज्ञप्ती जारी गर्दै नयाँ एक सय वटा पर्यटकीय गन्तव्यको सूची प्रकाशित गरेको हो। जिल्लाका मिनिफेवाताल (तालपोखरा) र रम्भादेवी मन्दिर पर्यटकीय गन्तव्यको सूचीमा परेपछि जिल्लावासिहरुमा उत्साह छाएको छ।

यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन्। नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए। जस मध्ये मन्त्रालयले एक सय वटाको सूची प्रकाशन गरेको हो। सम्भावना भएर पनि ओझेलमा परेका यी क्षेत्रहरुको विकास, प्रचार, प्रसार र संरक्षण भएको खण्डमा जिल्लाको आर्थिक समृद्धि हुन सक्ने जिल्लावासीहरुले अपेक्षा लिएका छन्।

पर्यटन क्षेत्रको विकास तथा सोबाट प्राप्त लाभ जनस्तरमा पुर्‍याउने, पर्यटकीय गन्तव्यको विधिकरण गर्दै नयाँ पर्यटकीय स्थल र उपजहरुको पहिचान, विकास तथा पर्यटकीय पूर्वधारको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा विकास गर्ने योजना अनुरुप सरकारले नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान गरेको हो।

यस अघि नै जिल्लाको रानीमहल र श्रीनगर क्षेत्र  पर्यटकीय गन्तव्यका रुपमा सरकारले राखे पनि संरक्षण र प्रवद्र्धन भने हुन सकेको छैन। सरकारले यि क्षेत्रहरुलाई अहिले स्थापित तथा प्रवद्र्धन गर्नुपर्ने पर्यटकीय क्षेत्रको सूचीमा भने राखेको छ।

सरकारले आर्थिक वर्ष २०७५-०७६ को बजेट मार्फत नै नेपालको पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उल्लेख गरेको छ। नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ