काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिएका छन्।
काङ्ग्रेसले विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापन कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेसका संस्थापक नेता बिपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलापको नीतिको हिजो जति आवश्यकता थियो आज पनि त्यतिकै आवश्यक रहेको बताए।
मुलुकमा भएका सबै ठूला राजनीतिक परिवर्तन राष्ट्रिय एकताका आधारमा सफल भएको बताउँदै उनले राजनीतिक दल र नागरिक बुद्धिजीवीको बीचमा एकता नभई राजनीतिक स्थिरता र विकास नहुने उल्लेख गरे।
अध्यक्ष दाहालले भने, “हामीले मिलेरै शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्यायौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौँ, निर्वाचन गर्यौँ र अब मिलेर नै संविधानको मर्म र भावनाअनुसार जनताको चाहनाअनुसार विकास र समृद्धिको नयाँ यात्रातिर जानुछ, त्यसका लागि पनि राष्ट्रिय एकता आवश्यक छ।”
कार्यक्रममा काङ्ग्रेस सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाले चियापान कार्यक्रम अग्रज नेता बिपीले शुरु गरेको र पार्टीका लागि ऐतिहासिक महत्वको भएको बताए। उनले भोलिको नेपाल शान्तिपूर्ण, भेद्भावरहित र सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गतिशील होस् भनी शुभकामना दिए। सभापति देउवाले मुलुकमा सहमति, सहकार्य र मेलमिलापको सधैँ आवश्यकता रहिरहने र त्यसका लागि सत्तापक्षले पहल गर्नुपर्ने धारणा व्यक्त गरे।
नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले सहकार्यको संस्कृतिलाई विकास गर्न मद्दत गर्ने बताए। उनले भने, “यसबीचमा आफूले राष्ट्रिय राजनीतिमा प्रतिपक्षी दल खोजिरहेको थिए, कता हरायो भन्ने लागेको थियो तर सानेपा (काङ्ग्रेस केन्द्रीय कार्यालय) आउँदा भने भव्यरुपमा चियापान कार्यक्रमको आयोजना गरिरहेको पाए, खुशी लाग्यो।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको हितका लागि मेलमिलापको संस्कृति अझ अगाडि बढेर जानुपर्ने बताउँदै नेपालको राजनीतिक र भौगोलिक परिस्थितिअनुसार मेलमिलाप सधैँ आवश्यक हुने धारणा व्यक्त गरे।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुभकामना कार्यक्रम सकारात्मक संस्कृति हो भन्दै यसले आफन्तपन र सहकार्यको विकास गर्न योगदान पुर्याउने उल्लेख गरे। उनले अहिले मुलुक राजनीतिक परिवर्तनको उपलब्धिपछि समृद्धिको नयाँ युगमा प्रवेश गरेको सन्दर्भमा यस्ता कार्यक्रमले भिन्नताका बीच पनि एकताबद्ध भएर आर्थिक विकास र समृद्धितर्फ सहयोग गर्ने वातावरण बनाउने बताए।
काङ्ग्रेसको महासमिति बैठक सर्न सक्ने
काङ्ग्रेस महामन्त्री डा शङ्शाक कोइरालाले पार्टीको आसन्न महासमिति बैठक केही दिनपछि सर्ने सम्भावना रहेको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्राविधिक कारणले महासमितिको बैठक एक-दुई हप्ता पछाडि सर्ने सम्भावना रहेको जानकारी गराए। काङ्ग्रेसको महासमिति बैठक आगामी मङ्सिर ५ गतेदेखि ९ गतेसम्म काठमाडौँमा हुने तय भएको थियो।
उनले काङ्ग्रेसको आगामी नेतृत्व कोइराला परिवारमा जानुपर्ने धारणा व्यक्त गरे। साथै आफू पार्टीको नेतृत्वमा आएमा पार्टीलाई एक ढिक्का बनाउन सक्ने सामथ्र्य राख्ने उनको भनाइ थियो।
बिपीको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले बिपीकै आदर्श र नीतिअनुसार नै काङ्ग्रेस अघि बढेको बताए। मुलुकको हितका लागि फरक विचार तथा दलसँग पनि मिलेर जानुपर्छ भनेर बिपीले २०३३ सालमा मेलमिलापको नीति ल्याएको बताउँदै उनले काङ्ग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर राणाले काङ्ग्रेसको चियापान कार्यक्रमले लोकतन्त्र संस्थागत सुदृढीकरण र मुलुकमा राम्रो सहकार्यको राजनीतिक वातावरण बनोस् भन्ने सन्देश जाने बताए।
राजपा नेपालका नेता शरत्सिंह भण्डारीले मुलुकमा असहजताको अवस्था र निषेधको विभाजनको राजनीति अघि बढेको बेला सबैले एक पटक आपसी सद्भाव र पुनर्मिलनको बाटोबाट अघि बढेर मुलुकलाई अघि बढाउनुपर्छ भन्ने आफ्नो पार्टीको भनाइ रहेको बताए। सम्पूर्ण लोकतान्त्रिक शक्ति एक ठाउँमा बसेर लोकतन्त्रलाई रक्षा गर्दै विधिको शासन अघि बढाउन लाग्नुपर्ने उहाँको धारणा थियो।
हरेक वर्ष विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधन भएका कारण आज गरिएको हो। झण्डै पाँच वर्षदेखि अस्वस्थ रहनुभएका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो।
आजै केन्द्रीय कार्यालयसहित ७४ जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। केन्द्रको चियापान आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आयोजना गरिएको थियो। कार्यक्रम अवधिभर राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारगृहका प्रतिनिधि, पत्रकारलगायत हजारौँ विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।
कार्यक्रमको उचित व्यवस्थापन
अन्य वर्षको तुलनामा काँग्रेसको यस पटकको चियापान कार्यक्रम निकै भव्य र व्यवस्थित भएको भन्दै कार्यक्रममा आउनुहुने अतिथिले प्रशङ्सा गरिरहेको सुनिन्थ्यो। केन्द्रीय कार्यालयको पश्चिमी द्वारबाट अतिथिका लागि छुट्टाछुट्टै प्रवेश लाइन र पूर्वी द्वारबाट बाहिरीने व्यवस्था गरिएकोले कार्यक्रममा अनावश्यक भिड देखिँदैन्थ्यो।
पार्टीका स्वयंसेवीले निम्तालुको लाइन व्यवस्थापन गरेका थिए। सञ्चारकर्मीका लागि छट्टै स्थानमा स्टेजको व्यवस्था गरिएको कारण समाचार सङ्कलनमा सहज भएको थियो। चियापानमा विभिन्न क्षेत्रका अतिथिको स्वागतका लागि पार्टीका विभिन्न नेता समूहमा खटिनुभएको थियो।
विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले उक्त कार्यक्रम गर्दै आएको छ।