arrow

१० चक्के ट्रिपरको दादागिरीले स्थानीय आजित

इजाजत नलिई पहाडी इलाकामा हाईवा संचालन

logo
सीता डोटेल,
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
tiper1.jpg

पाल्पा ।  पुर्वी पाल्पाको निस्दी गाउंपालिका वार्ड नं ७ ज्यामिरे सुनखानी भटुकेडांडामा रहेको होङसी सीमेन्ट कारखानाको चुनढुङगा खानीमा ढुङ्गा बोक्न आउने ठूला प्रकृतिका हाइवाको आतंक फैलिएको छ ।

पहाडी जिल्लाको कमजोर सडकको धरातलका कारण ठुला १० चक्के हाइवा चलाउन नपाइने भएपनि सडक तथा यातायात कार्यालयको प्राबधान बिना नै यहाँ खुलमखुल्ला ठुला हाइवा   (ट्रिपर) चल्ने गरेको छ । होङसी सिमेन्टलाई आवस्यक पर्ने कच्चा पदार्थ चुनढुङगा बोक्ने ट्रिपरहरुले बाटो इजाजत नलिईकन संचालन गर्दै आएका छन् । जोखिमपूर्ण कच्ची सडकमा अत्यधिक चुनढुङगा लोड गरि खुल्लम खुल्ला त्यस्ता ट्रिपरहरु चलाएका कारण त्यस क्षेत्र आसपासका बस्तीहरु जोखिममा परेको स्थानीयले बताएका छन् । यहाँ दैनिक २० हाइवा गरि २ सय ट्रिपर चल्दै आएका छन् ।

आद्मार, मेदिखर्क, क्षेत्रीखर्क, बाहुन खर्क लगायतका बस्तीहरुमा बसोबास गर्ने मानिसहरुले ट्रिपरहरुको आतंकको कारण सास्ती बेहोर्दै आएको बताएका छन् । ट्रिपर आतंकबाट आजित भएका स्थानीय ज्यामिरेबासीले गत हप्ता बाटोमा मुढा तेर्स्याएर दिनभर ट्रिपर रोकेर आन्दोलन गरेका थिए ।

सडक ब्यबस्थित गरि नियम बमोजिम ट्रिपरहरु संचालन गर्ने होङसी सिमेन्ट व्यवस्थापन र स्थानीय बिच सम्झौता भएको भए पनि हालसम्म कार्यान्वयन नभएको कारण पुनः आन्दोलनमा जानुको बिकल्प नरहेको स्थानीयबासीहरुले बताएका छन् । सम्झौतामा पानीको धारा, भलिवल खेल मैदान बनाउने सहमति पनि भएको थियो ।

बासिन्दालाई आजित गराउने गरि ठुला गाडी कुदाउदा बस्ती नै खाली गराएर सुकुम्वासी बन्नु पर्ने अवस्था सिर्जना भएको स्थानीय बताउंछन् । ट्रिपरहरुले एकनासै कच्ची सडकमा जमीन समेत थर्काउने गरि चुनढुङगा ओसार्ने गरेका छन्, एक स्थानीयले भने–सम्झौता अनुसारको काम नगर्दा हामीलाई समेत दैनिक जिउन समस्या भएको छ ।

ट्रिपरहरुले उडाउने गरेको धुलोको कारण बातावरण पुरै कुहिरो लागे जस्तो गरि अन्धकार हुन्छ उनले भने–यसले वातावरण दुषित मात्र होइन मानिसहरुलाई स्वास फेर्न समेत मुश्किल भएको छ ।

प्रहरीले ज्यामिरेमा यस बिषयमा शुक्रबारबाट चेकजाच गरेको जनाएको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा सम्पर्क गर्दा बिना इजाजत हाइवा चलाउने गरेको सम्बन्धमा आफूहरुलाई पनि जानकारि आएको र तत्काल ट्राफिक प्रहरीसंग समन्वय गरि दैनिक चेक जांच शुरु गरेको जनाएको छ ।

त्यस क्षेत्रमा चल्ने १० पाङ्रग्रे सवारी साधनलाई पहिलो पटक पहाडी इलाकामा चलाउने अनुमति बिना चलाइएको भन्दै सम्झाएर छाडिएको इलका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए। आउदा दिनमा समेत नियम बिपरित संचालन गरिएको पाइए त्यस्ता सवारी साधनहरु, सवारी चालक र सवारी धनीहरुलाई समेत कारवाही गरिने प्रमुख पाण्डेले बताए। सडक तथा यातायात कार्यालयको अनुमति बिना सो क्षेत्रमा त्यस्ता सवारी चल्न नदिने पनि पाण्डेले थपे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ