भुटानको मन्त्रिपरिषदमा २ नेपाली भाषी बने मन्त्री, सत्ताधारी ३० सांसदमा ९ ‘नेपाली’
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
703
Shares
काठमाडौं । भुटानको मन्त्रिपरिषदमा दुई जना नेपालीले ठाउँ पाएका छन् । सरकार गठनका लागि संसदमा बहुमत हासिल गरेको ड्रुक न्यमन रुव शोग–पा (डिएनटी)ले मन्त्रिपरिषदमा दुई नेपाली भाषीलाई समेटेको हो । मन्त्री बन्ने सांसद हन्, जयबीर राई र लोकनाथ शर्मा ।
भुटानको राजधानी थिम्पुमा शनिबार सार्वजनिक गरिएको मन्त्रिपरिषद सदस्यको सूचिमा नेपाली भाषी दुई सांसद जयबीर राई शिक्षा मन्त्री र लोकनाथ शर्मा आर्थिक मामिला मन्त्री नियुक्त भएको उल्लेख छ ।
भुटानमा केही हप्ताअघि भएको निर्वाचनमा संसदको ४७ मध्ये ३० सिट ल्याएर डिएनटीले सरकार बनाउने स्पष्ट बुहमत हासिल गरेको थियो । डिएनटीका ३० सांसदमध्ये ९ जना नेपाली भाषी छन् । ती मध्ये दूई जना मन्त्री नै भएका छन् ।
पार्टीले सभापति डा। लोटे छिरिङ प्रधानमन्त्रीसहित मन्त्रीपरिषदका १० जनाको नाम सार्वजनिक गरेको छ ।
त्यो सूचिमा राई शिक्षा, शर्मा आर्थिक मामिला, उगेन दोर्जे श्रम तथा मानव संशाधन, कर्मा वाङदी सूचना तथा सञ्चार, डेचेन वाङमो स्वास्थ्य, दोर्जे छिरिङ मानव बसोबास, डाशो शेरुव ग्याल्तसेन गृह तथा संस्कृति, टाण्डी दोर्जे परराष्ट्र, नाम्गे छिरिङ अर्थ र येशे पिन्जोरलाई कृषि तथा वन मन्त्रीको कार्यभार दिइएको उल्लेख छ ।
डिएनटीले आफ्नो सांसद संख्याको ३० प्रतिशत नेपाली भाषी रहेको भन्दै ११ सदस्यीय मन्त्रीपरिषदमा २० प्रतिशत नेपाली भाषीलाई ठाउँ दिएको हो । ११ जनाको मन्त्रीपरिषदमा महिला एक जना मात्रै छिन् । क्याविनेट सदस्य डेचेन वाङमोले स्वास्थ्य मन्त्रालयको जिम्मा पाएकी छन् ।