समीरमानकी पत्नी माया शेरचन पक्राउ, सुटरलाई पेस्तोल उनैले दिएको खुलासा
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
799
Shares
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनसहितका व्यक्ति हत्या आफ्नो थाप्लोमा लिने समीरमान बस्नेतकी पत्नी माया शेरचन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुसन्धानको लागि भन्दै महानगरीय अपराध महाशाखाको टोलीले बस्नेतकी पत्नी मायालाई काठमाडौंबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरीले निर्माण व्यवसायी महासंघका गौचन, युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी लगायतका व्यक्ति हत्याका घटनामा समीरमानकी पत्नीको समेत संलग्नता शंकामा प्रहरीले पक्राउ गरेको हो ।
गौचन हत्याको आरोपमा अपराध महाशाखाको टोलीले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि समीरकी पत्नीसमेत संलग्न रहेको खुल्न आएको हो । पक्राउ परेकाहरुले अदालतमा बयान दिँदा व्यक्ति हत्याका घटनामा समीरकी पत्नी समेत संलग्न भएको बताएका प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको बयानकै आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएर मायालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए ।
गौचन हत्या, प्रहरीले गुण्डा नाइकेको सूचिमा राखेका दावामा लामामाथिको गोली प्रहार, युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या लगायत घटनामा माया पनि संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । दावालाई गोली हान्ने क्रममा सुटर अम्बर बहादुर रानालाई मायाले नै सितापाइलामा पेस्तोल दिएको खुलेको छ । गोली हानेपछि त्यो पेस्तोल फेरि समीरकै श्रीमतिलाई फिर्ता गरेको अम्बरले बयानका क्रममा भनेका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई गोली हान्दा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफुले नै गोली हानेको अम्बरले बताएका छन् । समीरमान जेलमा छन् । समीरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले गएको मंसीर १७ गते भारतबाट पक्राउ गरेर ल्याएको भन्दै सार्वजनिक गरेको थियो ।
गौचन, दावा र तिवारी तीन वटै गोलीकाण्डमा ९ एमएमको पेस्तोल प्रयोग भएको र त्यो पेस्तोल दरबारको भएको दाबी गरिएको छ ।