arrow

पाल्पामा म्याद सकिएका उपभोग्य वस्तु विक्रि गर्ने विक्रेता पक्राउ 

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
seal.jpg

पाल्पा। तिहार पर्वलाई लक्षित गरी उपभोग्य मिति सकिएका कोकाकोला ब्राण्डका पेय पदार्थ बजारमा विक्रि गर्दै गर्दा जिल्ला स्तरीय संयुक्त अनुगमन टोलीले पाल्पाको कोक डिलर र होल सेल विक्रेतालाई पक्राउ गरी कारवाही अगाडि बढाएको छ।

बजार अनुगमनको समयमा खुद्रा विक्रेताहरुबाट एक दुई दिन अगाडि खरिद गरेको कोक, फेन्टा, स्प्राईट, कोका कोला क्यान जुसहरु उपभोग्य मिति सकिएको पाइएपछि संयुक्त अनुगमन टोलीले होलसेलर र डिलरहरुको पिछा गरी पक्राउ गरेको हो।

पाल्पाको कोक डिलरको रुपमा रहेको दर्शन सप्लायर्स, होलसेलरको रुपमा रहेको पाण्डे सप्लायर्सले दशै तिहारको अवसरमा पाँच सय एमएलको बोतल देखी सवा २ लिटर सम्मको कोक, फेन्टाको बोतल प्लास्टिकको काटुर्नमा उपभोग्य मिति सकिएका आईटम मिसाउदै विक्रि गर्दै गरेको अवस्थामा संयुक्त अनुगमन टोलीले रङ्गे हात पक्राउ गरेको हो।

संयुक्त अनुगमन टोलीले रिव्दिकोट गाउँपालिकाको हार्थोकमा थोक विक्रेता पाण्डे मदिरा सप्लायर्सले उपभोग्य मिति सकिएका कोकाकोला विक्रि गर्दै गर्दा भेटिएपछि शंङ्का गरी गोदाममा छापा मार्दा विक्रि गर्न बजार लैजाने तयारीमा रहेको करीव पाँच सय लिटर मिति सकिएका कोकाकोला जफत गरी नष्ट गरेको छ।

यसैगरी दर्शन सप्लायर्सबाट करीव एक ट्रक उपभोग्य मिति सकिएका कोकाकोलाको पेय पदार्थ जफत गरी नष्ट गरेको छ। दर्शन सप्लायर्सले उपभोग्य मिति भएको र सकिएको पेय पदार्थ एउटै कार्टुनमा राखी विक्रि गर्दै आएको अनुगमन टोलीले फेला पारेपछी जिल्ला प्रशासन कार्यालय पाल्पाले कार्तिक १७ गते कोकाकोलाको गोदाममा शिलवन्दी गरेको थियो।  
कार्तिक १८ गते अनुगमन टोलीले दर्शन सप्लायर्सको गोदाम शिल तोडी हेर्दा विक्रि गर्न लैजाने गरी उपभोग्य मिति सकिएको करीव एक ट्रक पेय पदार्थ जफत गरी नष्ट गरेको हो। होलसेलर र डिलर बाटै उपभोग्य मिति सकिएका कोकाकोलाको पेय पदार्थ बजारमा विक्रि गर्दै गर्दा भेट्टाएपछि दर्शन सप्लायर्सको गोदाम शिल गरेको र पाण्डे सप्लयार्स गोदामबाट ठूलो परिणामामा पेय पदार्थ जफत गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकृत हुम बहादुर पाण्डेले बताए।

पाल्पाको बजारमा कोक फेन्टा, स्प्राईटको अभाव भईरहेको समयमा  कोकाकोला कम्पनीका प्रतिनिधी, डिलर र होलसेलरको मिलेमोतोमा उपभोग्य मिति सकिएका कोकाकोलाको पेय पदार्थहरु बजारमा विक्रि भएको बताईएको छ।

पाण्डे मदिरा सप्लायर्सले प्रोपाईटर सागर पाण्डेले आमा सितादेवी पाण्डेको नाममा फर्म दर्ता गराएका छन् भने दर्शन सप्लायर्सका प्रोपाईटर रेवतबहादुर रायमाझीले छोरी ईच्छा रायमाझीको नाममा फर्म सञ्चालन गर्दै आएका छन्।

उपभोग्य मिति सकिएका पेय पदार्थको सेवन गर्नु भनेको विस सेवन गर्नु जस्तै हो, यसले, शरिरका मुटु कलेजो, आन्द्रामा असर पुर्‍याउने, पाचन पक्रियामा समस्या ल्याउने, जस्ता समस्या आउने खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका निमित्त डिभिजन प्रमुख नरेश श्रेष्ठले बताए।

पेय पदार्थ तथा उपभोग्य समानको उपभोग्य मिति हेरेर मात्र खरिद विक्रि गर्न आम उपभोक्तालाई श्रेष्ठले आग्रह गरे। दर्शन सप्लायर्सका रेवत बहादुर रायमाझीले विक्रि गर्न नभई बजारबाट उठाएर ल्याएका कोकाकोला गोदाममा राखिएको दावी गरे। जिल्ला प्रशासन कार्यालय पाल्पाले दुबै प्रोपाईटरलाई बयान लिई कारवाही अगाडि बढाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ