arrow

कहाँ कहाँ मनाइँदैछ धन्वन्तरी जयन्ती

logo
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
bishnu-dhanajantay.jpg

काठमाडौं। आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ। हातमा बैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ। देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धनवन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

धनवन्तरी जयन्तीलाई चिकित्सकले शुभ संकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गर्दछन्। विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रुपमा धनवन्तरी जयन्ती मनाउन थालिएको थियो।

आज यसै अबसरमा नरदेवीमा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको उपस्थितिमा बिशेष कार्यक्रम हुदैछ। आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ।

धनवन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाङ, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ।

प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी अर्थात काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ। धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ। यो दिन धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो। धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ। यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन।

तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो। पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ। समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो। उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए। त्यसैले उनको अर्को नाम ’पीयूषपाणि धन्वन्तरि’पनि हो। उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ। 

त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ। यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ। 

प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ। जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए। विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन्।

विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन्।

रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो। बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए।

ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो। भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो। यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन्। यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ।

यस कर्मको प्रतीकात्मक अर्थ हो (पारिवारिक सुख र सुस्वास्थ्य। हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ। धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ।

रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ’धनतेरस’पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्का्तिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन्। सारांशमा आआफ्ना सामर्थ्य अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ