पोखरा । नेपाली कांग्रेसका नेता तथा स्यांङ्जाका अग्रज समाजसेवी रामचन्द्र कोइरालाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको छ । पुतलीबजार– १३, कुलबाँध निवासी कोइरालाको पोखराको फेवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको परिवारले जनाएको छ । उनी केही दिनदेखि ज्वरोले सिकिस्त थिए ।
पञ्चायतकालदेखि नै प्रजातन्त्र स्थापनामा क्रियाशील उनी लोकतन्त्र स्थापनाका लागि आन्दोलनमा होमिएका थिए । जिल्लाको विकास निर्माणमा मरिमेटेर लाग्ने कोइरालाकै सक्रियतामा पुल, पुलेसा, कुला र बाटा निर्माण भएका छन् । उनले केही समय गाउँ पञ्चायत सचिव भएर काम पनि गरे । उनी सानै उमेरदेखि ज्योतिष पेसामा क्रियाशील थिए ।
कोइरालको निधनप्रति कांग्रेसले गहिरो शोक व्यक्त गरेको छ । पार्टी पूर्व उसभापति तथा पूर्व उप्रधानमन्त्री गोपालमान श्रेष्ठ, स्याङ्जा कांग्रेस सचिव कुमार राना, कांग्रेस नेता तुलसी गिरी लगायतले सोमबार बिहान अस्पताल नै पुगेर शोक व्यक्त गरेका छन् । श्रेष्ठ लगायत नेताले कोइरालालाई पार्टीको झण्डा ओडाएका थिए । लोकतन्त्रको सम्बद्र्धन र पार्टीको संगठन विस्तारमा सदा क्रियाशील नेताको निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेता श्रेष्ठले बताए ।
कोइरालाको पोखराको रामघाटमा सोमबार अन्तिम संस्कार गरिएको छ । जेठा छोरा माधव कोइरालाले शवमा अग्नि दिएका थिए । उनका पत्नी नर्मदा, छोरा माधव र प्रकाश, छोरीहरु राधिका, जानुका र विजया छन् ।