संविधान संशोधन नभए सरकार ढल्छ, ओली विश्वासघाती ठहरिन्छन् : श्रेष्ठ
‘संविधानको धारा २७४ संशोधन गरेर नयाँ प्रदेश सिर्जना गर्ने विषयमा ओलीले सहमत भएकै हुन्’
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
536
Shares
काठमाडौं । सत्ताधारी दलकै नेताले संविधान संशोधन नभए वर्तमान ओली सरकार ढल्ने बताएका छन् ।सरकारमा रहेको संघीय समाजवादी फोरम नेपालको सह–अध्यक्ष एवं सांसद राजेन्द्र श्रेष्ठले संविधान संशोधन नगरे वर्तमान ओली सरकार ढल्ने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले संविधान संशोधन गर्ने लिखित सहमतिपछि नै आफ्नो पार्टी सरकारमा गएको सुनाए । पत्रकारसँग उनले भनेका छन्, ‘हामी लिखित सहमति गरेर संघीय सरकारमा सामेल भएका हौँ । भाग खान मात्रै सरकारमा आएका होइनौँ ।’
श्रेष्ठले संविधान संशोधन गरेन भने सरकार धरापमा पर्न सक्छ, भने । उनले अगाडि थपे, ‘नेकपाभित्र पनि ठूलो शक्ति संविधान संशोधन हुनुपर्छ र उत्पीडित राष्ट्रियताहरुको सम्बोधन हुनुपर्छ भन्ने भएर नै हामीसँग सम्झौता गर्न केपी ओली पनि बाध्य भएका हुन् ।’
प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल र उपेन्द्र यादवबीच दुई बुँदे लिखित सहमति भएपछि गएको जेठ महिनामा उपप्रधानमन्त्रीसहित संघीय समाजवादी फोरम सरकारमा सहभागी भएको हो । त्यो दुई बुँदे सहमति गर्ने बेला प्रधानमन्त्री ओलीको समेत निर्णायक भूमिका रहेकोले संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको श्रेष्ठको भनाई छ ।
‘त्यो सहमति गर्ने बेलामा प्रधानमन्त्रीको भूमिका निर्णायक रहेको थियो र उहाँलाई अरुले पनि प्रोत्साहन गरेका थिए,’ श्रेष्ठले भने, ‘त्यसकारण संविधान संशोधनको सम्झौता गर्ने तर त्यो सम्झौता कार्यान्वयन नगर्ने हो भने विश्वासघात हुन्छ ।’
उनले संविधानको धारा २७४ संशोधन गरेर नयाँ प्रदेश सिर्जना गर्ने विषय आफूहरुले विगतदेखि उठाउदै आएको र यसबारे केपी ओली सकारात्मक रहेको पनि बताए । श्रेष्ठले अन्तर्राष्ट्रिय मान्यताअनुसारकै संघीय संरचना निर्माण गर्ने विषयमा आफूहरुले नेकपाका नेताहरुसँग कुराकानी गर्दै आएको र त्यसमा उनीहरु सकारात्मक रहेको सुनाए ।