केन्द्रीय कारागारमा बेलुका मात्रै घट्यो भाइटीका लगाउनेको भीड
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
264
Shares
काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा भाइटीका लागि लागेको भीड बेलुकी पाँच बजे मात्रै कम भएको छ । टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा भनिएपनि केन्द्रीय कारागारमा विहान ९ बजे अगावै भीड लागेको थियो ।
भित्र विभिन्न प्रक्रिया मिलाउनु पर्ने भएका कारण कयौँ बालकदेखि बृद्धसम्मका आफन्तजन घण्टौ लाइनमा बसे । उनीहरुले लाइनमा पालो कुरेर भाइटीका लगाएका छन् । देशभरकै सबैभन्दा बढी कैदी रहेको केन्द्रीय कारागारमा भाइटीका लगाउन आउने महिला पुरुष दुबैको भीड उत्तिकै रहेको कारागार प्रशासनले जनाएको छ । यद्यपि, महिला र बालकालिकाको संख्या नै बढि थियो ।
केन्द्रीय कारागारको क्षमता साढे १२ सय मात्रै हो । तर, त्यहाँ झण्डै ३ हजार कैदीबन्दी छन् । जसमा चार सय जिदेशी कैदीबन्दी छन् । १९७१ मा बजेको कारागार जीर्ण बनिसकेको छ । कोचाकोच कैदीबीच उनीहरुले उल्लासपूर्ण वातावरणमा भाइटीका मनाएका छन् । विभिन्न अपराधमा जेलजीवन विताइरहेका बन्दीहरु भाइटीका लगाउन पाउँदा निकै हर्षित भए ।
यस्तै, तनहुँ कारागारले पनि कैदीबन्दीका लागि भाइटीका लगाउने व्यवस्था मिलाइदियो । कारागारमा रहेका २५ जनाले कारागारभित्रै भाइटीका लगाएको कारागार प्रमुख नारायण अधिकारीले जानकारी दिए । विभिन्न अपराधमा कारागार चलान भएका उनीहरू कारागारभित्रै भाइटीका लगाउँदा हर्षित भए ।
यसैगरी, गुल्मीको जिल्ला कारागारले पनि कैदीबन्दीलाई भाइटीका लगाउने प्रबन्ध मिलाइदियो । ५३ जना पुरुष, ४ जना महिला र २ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा ८ जनाले कारगार भित्रै भाइटीका लगाएको गुल्मी प्रहरी प्रमुख दिपक कुमार बस्नेतले जानकारी दिए । उनीहरुले शुभसाइतमै भाइटीका लगाएको कारगार गुल्मीले जनाएको छ ।