रुकुममा प्रचण्डका कार्यकर्ता विप्लवका कार्यकर्ताबाट कुटिए, वडाध्यक्ष विक अस्पताल भर्ना
प्रकाशित २०७५ कार्तिक २४ शनिबार
292
Shares
रुकुम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कुटपिटबाट वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक घाइते भएका छन् । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको माओवादी र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबीच झडप हुदा वडाध्यक्ष विक घाइते भएका हुन् । वडाध्यक्ष विकको टाउकोमा चोट लागेको छ । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाइएको छ ।
आठबिसकोट नगरपालिका वडा नम्बर ३ मा लगाइने मेला संचालन कसले गर्ने भन्ने बिषयमा बढेको विवादमा वडाध्यक्ष कुटिएका हुन् । स्थानीय तहमा निर्वाचित भएका नेकपाका वडाध्यक्ष विकले आफूहरुले नगरपालिकाका तर्फबाट मेला संचालन गर्ने तथा विप्लव नेतृत्वका माओवादी स्थानीय नेता चन्द्र बहादुर बुढाले आफूहरुले मेला संचालन गर्ने अडान लिएपछि बढदै गरेको विवाद कुटाकुटमा परिणत भएको छ ।
प्रहरी उपस्थितिमै भएको कुटाकुटपछि स्थितिलाई नियन्त्रण गर्न प्रहरीले हवाईफायर गरेको छ । प्रहरीले एक राउन्ड हवाईफायर गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख (डिएसपी) सुमित खड्काले बताए । पुरानो रिसिइविले समेत विक माथि आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
रुकुम पश्चिममा राजनीतिक दलसँग निकट रहेर गरिने खेलकुद प्रतियोगीता तथा मेलाहरु शक्ति प्रदर्शन गर्ने स्थलमा रुपान्तरण हुन थालेपछि एकले अर्काको कार्यक्रम हुन नदिने पनि देखिएको छ । नेपाली कांग्रेस निकट लोकतान्त्रीक खेलकुद संघले गरेको कार्यक्रम नेकपाले जीतेको स्थानीय तहले प्रशासन लगाएर रोकाएको थियो ।
शुक्रबार मात्रै रुकुम पश्चिम वाफिकोट ६ मग्माका प्रेस युनियनका सचिव लोकेन्द्र खनालसहित १२ जनालाई सत्तारुढ नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए ।