काठमाडौं । सरकारले संवैधानिक आयोगमा सचिव तोकेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ६ आयोगका लागि कर्मचारी खटाउने निर्णय गरेको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत ६ सहसचिवलाई सचिव बनाएर बिभिन्न आयोगमा खटाइएको हो ।
सरकारले दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदार प्रसाद पनेरु, मधेशी आयोगमा भुपाल बराललाई खटाउने निर्णय गरेको छ।
त्यस्तै आदिवासी जनजाति आयोगमा रुद्र सिंह तामाङ र थारु आयोगमा रुपनारायण भट्टराईलाई कार्यभार तोकेको छ ।
संविधान जारी भएसँगै गठन हुनुपर्ने यस्ता आयोग गठन सम्बन्धी विधेयक नै करिब डेढ वर्षपछि जारी हुँदा संविधान जारी भएको तीन वर्षपछि बल्ल पदपूर्ति गरिएको हो ।
ऐन जारी भएपछि उक्त आयोगमा पदाधिकारी नियुक्त सुरु हुनुपर्नेमा गत भदौ ५ गते मात्र गठनको प्रक्रिया थालिएको थियो ।
२०७२ असोज ३ मा जारी नयाँ संविधानले ८ वटा संवैधानिक आयोगहरु रहने व्यवस्था गरेको छ।