उदयपुर । रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या आरोपमा सोमबार पाँचजना जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाट नेतृत्वको टोलीले अनुसन्धानका लागि शंकास्पद स्थानीय ५ जना लाई पक्राउ गरेको हो ।
स्थानीयबासीले नै किशोरीको हत्यामा पक्राउ परेका व्यक्तिहरूको संलग्नता हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको उदयपुरका एसपी चन्द्रदेव राईले बताए । पक्राउ परेका व्यक्तिको नाम गोप्य राखेर अनुसन्धान गरिने एसपी राईले बताए।
मृत बालिकाको मुखमा नेप्किन कोचिएको, मलद्वार च्यातिएको, योनी सामान्य अवस्थामा नरहेको, घाँटीमा नङ गाडिएको, अन्य ठाउँमा पनि चिथोरेर घाउ भएकाले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ ।
‘शवको पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।, शबको प्रकृति हेर्दा बलात्कार पछि हत्या गरेको हुन सक्ने भएकाले केही ब्याक्ती लाई पक्राउ गरेर ल्याएका छौ।, पोष्टमार्टम रिपोर्ट आए पछी सबै खुल्ने छ ।’ एसपी राईले भने ।
गएको शनिबार हराएकी एल्जिना आइतबार दिउँसो लाफागाँउकै अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन्। उदयपुर सदरमुकामदेखि घटनास्थल करिब ८० किलोमिटरको दुरीमा पर्छ।