arrow

मौसमले सतायो, शीतलहर र हुस्सुले उडान अवरुद्ध

logo
प्रकाशित २०७५ कार्तिक २९ बिहिबार
weather.jpg

राँझा । बाँकेमा बिहीबार बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुन सकेको छैन । 

हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिइन् । 

उनका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुन नसकेको हो । बाँकेमा बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताइन् । 

सानो जहाज उडानका लागि एक हजार ६०० देखि दुई हजारसम्म र ठूला जहाजका लागि दुई हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ । 

अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३.५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाकी प्रमुख पाण्डेले जानकारी दिइन् । 

“मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन । यो क्रम केही दिनसम्म रहने सम्भावना छ”, उनले भनिन् । 

नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडौंका उडान हुन नसकेको जानकारी दिए । 

नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ । मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताए ।



नयाँ