arrow

जनप्रतिनिधिको बेवास्ता नसच्चिए कडा आन्दोलन गर्ने महिलाहरुको चेतावनी

‘उत्तर र पश्चिम गए आर्मीले सताउँछ दक्षिण गयो एसएसबीले सताउँछ, महिलाहरु अब कति बस्ने यौन हिंसाको शिकार भएर’

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७५ मंसिर ३ सोमबार
mahila-unity.jpg

बेलडाँडी । कञ्चनपुरको दक्षिणी सिमान्त गाउँ पालिका बेलडाँडीका महिला तथा बिपन्न समुदायको उत्थानमा तीनै तहका जनप्रतिनिधिहरुद्वारा गरिएको बेवास्ता नसच्चिए कडा आन्दोलन गरिने भेलाको आयोजन गर्दै सहभागी महिलाहरुले बताएका छन् ।

आइतबार बेलडाँडीमा महिला खबरदारी सञ्जालमा आबद्ध महिलाहरुको भेलामा जनप्रतिनिधिहरुको रवैयाको विरुद्धमा आक्रोश पोख्दै ४५ वर्षिया हंशु सार्कीले भनिन ‘उत्तर र पश्चिम गए आर्मीले सताउँछ दक्षिण गयो एसएसबीले सताउँछ खेतबारी खोलाले दलदल बनायो खोइ कहाँ गए हाम्रा जनप्रतिनिधि ? महिलाहरु अब कति बस्ने यौन हिंसाको शिकार भएर ।’ 

बेलडाँडीमा निर्वाचन पछि बिकासको आश गरि बसेका स्थानिय महिला यतिबेला निराश बन्दै गएका छन् । गाउँपालिकाको उत्तर र पश्चिम तर्फको आरक्षबाट पिडितको उत्तिकै पीडा रहेको छ । वन सम्पदामा स्थानियको अग्राधिकार हुनु पर्ने सैद्धान्तिक मान्यता रहे पनि वनमा उम्रेको साग समेत स्थानीयले टिप्न नपाउने स्थानिय महिलाहरुले भेलामा बताए ।

स्थानिय गाउँ झिलमिलाबाट भेलामा सहभागी बितु रानाले भनिन ‘गाउँपालिका भित्रका सबै समुदायलाई समानरूपले हेरिनु पर्ने भए पनि राना थारु समुदायको संस्कार र परम्पराको संरक्षणमा स्थानिय निकायले एक पैसा पनि दिदैन ।जनप्रतिनिधि आफू भने सुबिधा भोगी बन्दै गएका छन्  ।’

महिला खबरदारी संजालकी संयोजक शान्ती नाथले भनिन् ‘बेलडाँडीका महिलाले एउटा होइन दर्जनौं पीडा भोग्दै आएका छन प्राथमिक स्वास्थ्य  केन्द्रमा डाक्टरको दरबन्दी त छ तर डाक्टर छैनन् ।’

 ‘स्वास्थ्य संस्थामा भएको एम्बुलेन्स कमाई खाने भाँडो बनेको छ महंगो भाडा तोकिएको छ । बिपन्न गरिबले कसरी प्रयोग गर्ने एम्बुलेन्स’ उनले भनिन् ‘खोइ जनप्रतिनिधि आरक्षमा दिउँसै महिलाको अस्मिता लुट्छन् आर्मीहरु तर जनप्रतिनिधि आफू सुबिधा भोगमै ब्यस्त छन् ।’ 

सञ्जालकी संयोजक शान्तिले भनिन् ‘जाडो  याम आउँदैछ गरिव बिपन्न बस्ती छ जिउलाई न्यानो पार्ने कुनै उपाय छैन । वनबाट दाउरा ल्याएर आगो ताप्न पनि नपाउने अबस्था कसरी समाधान गर्ने जनप्रतिनिधिलाई वास्तै छैन ।’

वनबाट दाउरा सहज ल्याएर आगो ताप्ने ब्यबस्था गरिनु पर्छ तर हाम्रा जन प्रतिनिधिलाई वास्तै छैन । जताततै बलात्कारका घटना बढीरहेका छन् महिलाको सुरक्षाको अनुभुति सरकारले दिन सकेको छैन ।  

भुमिहीन हरु बस्दै आएका बस्तीहरुमा राज्यका कुनै निकायले आत्मनिर्भर बनाउने कार्यक्रम नदिएको भन्दै खबरदारी सञ्जालले आयोजना गरेकोे कार्यक्रममा सहभागी निर्मला महरले भनिन् ‘दाउरा सागपात ल्याएर जिविको पार्जन गर्न पनि पाइदैन वनमा गए आर्मीले महिलामाथी दुर्व्यवहार गर्छ । जिविकोपार्जनको कुनै बिकल्प गरिवको बस्तीमा आएको छैन ।’


 
आइतबार भेलामा सहभागी निर्मला खड्काले भनिन् ‘बिद्युत महशुल बुझाउन २५ किमिको यात्रा पार गर्नु पर्छ यहि हो गाउँ गाउँमा सिंहदरबार ? चौधर खोलाले खेतबारी दलदल बनायो जनता खाद्य संकटको स्थिती झेल्दैछन तर जनप्रतिनिधि सुबिधा भोगमै मस्त ।’
 
आइतबार बेलडाँडीमा आयोजित महिला खबरदारी सञ्जालको भेलाले शान्ति नाथको संयोजकत्वमा ८६ सदस्यीय समिती गठन गरेको छ । मंगलबार बेलडाँडी गाउँ पालिकामा तालाबन्दीको निर्णय समेत भेलामा सहभागी महिलाहरुले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ