arrow

गाउँमा डकैती, पाँच जना घाइते

logo
प्रकाशित २०७५ मंसिर ३ सोमबार
mahottari.png

गौशाला । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ खखनाको ३ वटा घरमा आइतबार राति डकैती भएको छ । डकैतीमा रु सात लाख मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । 

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार सशस्त्र डाँकाले राति सोनमा गापा–३ खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर रु दुई लाख नगद, पाँच तोला सुन, तीन वटा मोबाइल, १० थान साडी र अन्य गर गहनासहित रु सात लाख मूल्य बराबरको धनमाल लुटेर लगेका छन् । 

१२–१४ जनाको समूहमा आएका सशस्त्र डाकाहरुले ललिन यादवका साथै स्थानीय सत्यनारायण राय यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी पाँच जनालाई घाइते बनाएका छन् । 

डाँकाहरुले घरेलु हतियारबाट प्रहार गरी ललिन यादव, सुरेन्द्र यादव, सञ्जिव यादव, सत्यनारायण यादव र चन्द्र राय यादवलाई टाउकोसहित शरीरका विभिन्न भागमा काटेर घाइते बनाएका छन् । 

डाँकाहरुको कुटाइबाट सुरेन्द्र यादवको अवस्था गम्भीर रहेको छ भने उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ । यता बाँकी चार जनाको उपचार सम्सी स्वास्थ्य चौकीमा भइरहेको जनाइएको छ । 

यता जिल्ला प्रहरी कार्यालयबाट डाँकाहरुको व्यापक खोजतलाश भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ