arrow

शौका समुदायको बसाईसराई शुरु, भारतीय बाटो प्रयोगले सास्ती

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ मंसिर ४ मंगलबार
sauka-community-darghula.jpg

दार्चुला। दार्चुलामा बसोबास गर्दै आएका आदिवासी जनजाती शौका समुदायको कुञ्चा सर्न सुरु भएको छ। ब्याँस गाविसबाट खलंगामा यहाँका शौका समुदाय प्रत्येक वर्ष बसाई सर्ने गर्छन्। उक्त समुदायको परम्मरागत रुपमा बसाई सराई सर्नुलाई कुञ्चा सर्न भनिन्छ।

सदरमुकामबाट २८ कोष उत्तरमा पर्ने हिमाली ब्याँस गाउँपालिकाको तिंकर गाउँका स्थानीय शौकाहरु आफ्नो बालबच्चा र गाईबस्तु सहित सदरमुकाम खलंगा सर्ने गर्छन्। तिंकर गाउँबाट खलंगा पुग्न चौपाया सहित ५-६ दिनको पैदल यात्रा गर्नुपर्ने तिंकरका स्थानीय दानसिह तिंकरीले बताए। नेपालतर्फ बाटोघाटो नहुँदा भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनको गुनासो छ। नेपालतर्फ पैदल बाटो समेत नभएकाले शौका समुदायले भारतीय मार्गको प्रयोग गरी बसाई सर्न बाध्य छन्।

‘भारतको बाटोबाट कुञ्चा सार्न धेरै समस्या छ’ उनले भने, ‘गाईबस्तुको क्वारेनटाईन चेक गर्नुपर्छ, ठाउँ–ठाउँमा भारतीय सुरक्षाकर्मीको दुरव्यवहार खेप्नुपर्छ।’ उनले भने, ‘नेपालतर्फ बाटो भईदिए सहज रुपमा आउन सकिने तिंकरीको भनाई छ। तिंकरबाट ५ दिन अघि हिडेको कुञ्चा सोमबार वेलुकी खलंगा पुगेको तिंकरीले बताए। तिंकर गाउँमा ४०–५० शौका समुदायका परिवारको बसोबास रहेको छ। ब्याँस गाउँपालिका–१ तिंकरको उच्च भेगहरुमा गत असोजमै हिउ पर्न सुरु भए पछि अत्याधिक चिसो बढे संगै शौका समुदाय खलंगा बसाई सराई गर्न थालेका हुन्।

वर्षमा एक मात्रै खेती हुने ब्याँसका स्थानीय उवा र नप्पल लगायतका अन्नबाली लगाउछन्। वैशाखको तेस्रो तथा चौथो साता लगाएको अन्नबाली भित्र्याएर शौका समुदाय सदरमुकाम बसाई सर्ने गर्दछन्। तिंकर गाउँका स्थानीय शौका वैशाखको पहिलो र दोस्रो हप्ताबाट खलंगाबाट तिंकर बसाई सर्न सुरु गर्दछन्। शौका समुदाय ६ महिना तिंकर तथा ६ महिना खलंगा बस्ने गर्दछन्। ब्याँस गाउँपालिको छाङ्गरु गाउँबाट समेत शौका समुदाय खलंगाका लागी हिडेको उनले बताए।

नेपालको दार्चुलामा मात्र बसोबास रहेको शौका समुदायको ब्याँसको छाङरु गाउँमा एक सय २० तथा तिंकरमा ५० गरी करिब एक सय ७० परिवारको बसोबास रहेको ब्याँसी शौका समाजले जनाएको छ। आफ्नो मौलिकता, ऐतिहासिक र सांस्कृतिक पहिचान भएका आदिवासी जनजाती ब्याँसी शौका दार्चुलाको साविकका गाविस ब्याँस, राप्ला र सितोलामा आदिमकाल देखी बसोवास गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ