सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्नेमा शंका : उपसभापति निधि
प्रकाशित २०७५ मंसिर ५ बुधबार
273
Shares
काठमाडौं। कांग्रेस उपसभापति विमलेन्द्र निधिले वर्तमान कम्युनिष्ट सरकार गणतन्त्र टिकाउने पक्षमा छ कि छैन भन्नेमा शंका उब्जन थालेको बताएका छन्। बुधबार राजधानीमा संचारकर्मीहरुसँगै कुरा गर्दै उनले सरकारले पूर्व राजालाई भारतको गणतन्त्र दिवसका दिन प्रमुख अतिथि बनाएर पठाउन लागेको भन्ने सुचनाले सरकार प्रति शंका उब्जिएको जनाए।
‘बिदाइ भइसकेको राजालाई सरकारले भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउन सिफारिस गरेको कुरा आएको छ, यसले सरकार गणतन्त्र टिकाउने पक्षमा छ की छैन भन्ने शंका उब्जाएको छ, सरकारले सो विषयमा प्रष्ट पार्नु पर्छ,’ कांग्रेस उपसभापति निधिले भने।
उनले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ प्रदेश २ को जनकपुरमा रेलको उद्घाटन गर्न आउँने विषयमा समेत असहमती जनाएका छन। निधिले रेलको उद्घाटन दुई देशको केन्द्रिय तहबाट हुनु पर्ने भन्दै सरकारको कुटनीतिक पहलमा कमी भएकाले यस्ता कुरामा सरकारले ध्यान पुर्याउनु पर्ने जनाएका हुन।
‘भारतका मुख्य मन्त्री नेपालमा रेलको उद्घाटन गर्न आउँनु नेपालमाथीको डिग्रेड हो, यसले देशको कुटनीतिक छवीलाई होच्याउँने काम गर्छ, सरकारले यस विषयमा समेत प्रष्ट पार्नु पर्छ,’ निधिले थपे। उनले भारत र नेपालका प्रधानमन्त्री, सम्भव नभए दुई देशका विदेश मन्त्री वा अन्य कुनै केन्द्रिय तहका मन्त्रीबाट रेल उद्घाटन गर्नु पर्नेमा समेत जोड दिए। निधिले प्रदेश २ को सरकार मधेसवादी दलको नेतृत्वमा रहेको भएपनि केन्द्र सरकारको पछि लग्गु भएर मधेसी जनताका पक्षमा उभिन नसकेको समेत जनाए।
‘प्रदेश २ मा मधेसवादी दलको नेतृत्वमा सरकार छ, तर सरकार केन्द्र सरकारकै पुच्छर जस्तो भएको छ, यसले मधेसवादी दल पनि संघियता र गणतन्त्रको पक्षमा छकी छैन भन्ने गम्भीर प्रश्न उठाएको छ,’ निधिले भने।