arrow

प्रचण्डले दिन खोजेको सन्देश

logo
प्रकाशित २०७५ मंसिर ६ बिहिबार
prachanda-shanti.jpg

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भगवान गौतम बुद्धको तस्वीरलाई पृष्ठभूमिमा तस्वीर खिचाएर आफू शान्तिका लागि अग्रसर भएको सन्देश दिन खोजेका छन् । 

वृहत शान्ति सम्झौताको १२ वर्ष पुगेको अवसरमा सन्देश दिने क्रममा उनले बुधबार विभिन्न स्थानमा सशस्त्र द्धन्द्धलाई शान्तिमा रुपान्तरण गर्न सकेकामा खुशी भएको प्रतिक्रिया दिए । 

प्रचण्डले आफूलाई कुनै पश्चात्तापसमेत नभएको प्रतिक्रिया दिएका छन् । प्रचण्डले १२ वर्षसम्म पनि शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेकोप्रति भने आगामी असार मसान्तभित्र सबै कामको टुंगो लाग्ने चितवनमा बोल्दै बताए । 

प्रचण्डले २०६३ साल मंसिर ५ गते विद्रोही नेताको प्रमुखका नाताले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंगै वृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । 

तर सशस्त्र द्धन्द्धमा मारिएका १७ हजार नेपालीको मरणप्रति कुनै पश्चात्ताप छैन भनिएको हो भने त्यो दुर्भाग्य नै हो । 

लाखौं नेपालीले सशस्त्र द्धन्द्धको असर भोगेका छन् । हजारौं अझै बेपत्ता छन् । उनीहरुको अवस्था सार्वजनिक गर्न सकिएको छैन । 

बाबुआमा मात्र हैन सन्तान गुमाउनुको पीडामा अहिले पनि कतिपय अभिभावक मरेतुल्य जीवन बाँचिरहेका छन् । 

सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका ६३ हजार मुद्दा अलपत्र छन् । फर्छयौट गर्न सरकार अनिच्छुक देखिएको छ । 

आफ्नालाई बचाउने र अर्कालाई जसरी हुन्छ खाल्टोमा जाक्ने राजनीतिक प्रवृत्तिकै कारण मुद्दा फर्छयौट सजिलै हुने सम्भावना छैन । 

प्रचण्ड स्वयं दुई पटक प्रधानमन्त्री भए । डा बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए । अहिले त झन् बहुमतको सरकार छ । 

त्यसको नेतृत्व पनि प्रचण्डकै पार्टी नेकपाले गरिरहेको छ । चाहने हो भने अहिले नै यसको समाधान हुने थियो । 

तर सत्ता सम्हालेको ९ महिनासम्म प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कदम चालेका छैनन् । 

बोलीमा भने धेरै काम भएको दावी गरिन्छ । प्रचण्डको यो तस्वीर पनि देखावटीका लागि हो वा दृढ इच्छाशक्तिका साथ अगाडि आएको हो त्यो भने असारसम्मले देखाउने छ । 

तर बोली र व्यवहार एकै नभएका कारणले प्रचण्डको यसपटकको तस्वीरले पनि केवल मौसमी बाजामात्र बजाएको स्पष्टै हुने विश्लेषण पनि गर्न थालिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ