काठमाडौं। सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेको छ। लुम्बिनी शान्ति र अहिंसाको भूमि भएकाले यस क्षेत्रभित्र हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापान गर्न नपाइने गरी पञ्चशील क्षेत्र घोषणा गरिएको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरेका हुन् । मन्त्री अधिकारीले बुद्धभूमि शान्त र सुन्दर छ भन्नेसन्देश विश्वभर फैलाउन पञ्चशील क्षेत्र घोषणा गरिएको बताए।
लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताए।
कार्यक्रममा मन्त्री अधिकारीले, अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पुरा हुने दाबी पनि गरे । ६ अर्ब रुपैयाँ भन्दा बढी रकम लाग्ने अनुमान गरिएको गुरुयोजना दाता खोजेर भए पनि पुरा गर्ने बाचा पनि मन्त्री अधिकारीले गरे।
दोश्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म
त्यैगरी दोश्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव’ काठमाडौँदेखि लुम्बिनीसम्म गरिने भएको छ। अन्तर्राष्ट्रियस्तरका कलाकारलाई आकर्षित गरी कला र पर्यटनको प्रचार प्रसार गर्ने भन्दै, दोश्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव काठमाडौँदेखि लुम्बिनीसम्म गर्न लागिएको हो।
नेपालका पर्यटकीयस्थल, सौन्दर्यस्थल, मनोरम दृश्यबारे जानकारी गराउन काठमाडौँदेखि लुम्बिनीसम्म महोत्सव गर्न लागिएको हो । मङ्सिर १७ देखि २३ गतेसम्म हुने महोत्सबले भ्रमण वर्षबारे प्रचार–प्रसार गरी पर्यटक अभिवृद्धि गर्ने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज नेपालले जनाएको छ।
महोत्सवमा १० मुलुकका ३५ कलाकारको सहभागिता रहनेछ । महोत्सवमा सहभागी हुने मुलुकका कलाकारले आ–आफ्नो देशमा पर्यटनको विकासमा सकारात्मक परिवर्तनका लागि भूमिका खेल्ने आयोजकको विश्वास छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्रयाउने लक्ष्य लिएको छ ।
महोत्सवको पहिलो दिन नेपाल कला परिषदमा उदघाटन गरिने र १८ देखि २३ गतेसम्म लुम्बिनीमा कार्यशाला गरिनेछ । नेपाल सांस्कृति संस्थान, नेपाल पर्यटन बोर्डलगायत संस्थाको समन्वयमा हुने महोत्सव करीब २५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।