अवैध उत्खनन गर्ने ट्र्याक्टर नियन्त्रण गर्न खोलामै पुगे जनप्रतिनिधि

प्रकाशित मिति : २०७५ मङ्सिर ६ बिहिबार
फाइल तस्विर

नारायणपुर । दाङका खोला तथा नदीबाट अवैधरुपमा ढुङ्गाजन्य वस्तु उत्खनन र ओसारपसार गर्ने क्रम नरोकिएपछि जनप्रतिनिधि नै खोलामा पुगेर ट्र्याक्टर नियन्त्रण गर्न थालेका छन् ।

जिल्ला समन्वय समिति दाङका प्रमुख जीतेन्द्रमान नेपाली र उपप्रमुख श्रीधर शर्मा पौडेल खोलामै पुगेर अवैधरुपले ढुङ्गाजन्य वस्तु उत्खनन गरेर ओसारपसारमा संलग्न रहेका आठ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएका छन्। प्रमुख र उपप्रमुखको दुई छुट्टाछुट्टै टोली बनाएर तुलसीपुर सुकौरा क्षेत्र र दङ्गीशरण गाउँपालिकाको बबई दोभानबाट आठ वटा ट्र्याक्टर नियन्त्रणमा लिएका हुन् ।

प्रमुख नेपालीको नेतृत्वमा गएको टोलीले दङ्गीशरण गाउँपालिकाको बबई नदीको दोभान क्षेत्रबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहको चार ट्र्याक्टर नियन्त्रणमा लिएको हो भने उपप्रमुख पौडेलको नेतृत्वमा गएको अर्को टोलीले तुलसीपुर उपमहानगरपालिकाको सुकौरा क्षेत्रबाट अवैध उत्खनन गरिरहेका चार वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएका ट्र्याक्टरलाई प्रहरीको जिम्मा लगाएको छ । “दाङका खोला तथा नदीबाट ढुङ्गा उत्खनन गर्ने काम रोकिएन ।” समन्वय समितिका प्रमुख नेपालीले भने, “अब आफैँ खोलामै पुगेर रङ्गेहात पक्राउ गर्ने र नियन्त्रणमा लिनको लागि हामी आफैँले सक्रियता देखाएका छौँ ।”

पक्राउ परेका ट्र्याक्टरलाई जरिवाना गरेर छोड्दै आएको छ तर अब पक्राउ परेका ट्र्याक्टर तथा मेशिन र संलग्न रहेका व्यक्तिमाथि अनुसन्धान शुरु गरिने प्रमुख नेपालीले बताए । जनप्रतिनिधिको टोलीले तुलसीपुर र दङ्गीशरणको खोला र बबई नदीका १७ स्थानमा प्रारम्भिक वातावरणीय परीक्षणको लागि अनुगमनसमेत गरेको छ । स्थानीयतहले प्रारम्भिक वातावरणीय परीक्षणको लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरेपछि समन्वय समितिले स्थलगत अनुगमन गरेको हो । रासस

नयाँ