काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा पार्टी एकीकरणको प्रक्रिया तथा सांगठनिक एकीकरणका बारेमा छलफल हुने मोटामोटी एजेन्डा रहे पनि बुधबार २१ केन्द्रीय सदस्यले खुलेआम दिएको मागपत्रबारे गम्भीर छलफल हुने बुझिएको छ ।
पार्टीका युवा नेताहरुले सरकार र पार्टी सञ्चालनबारे असन्तुष्टि जनाउँदै तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
एकाएक आएको यो युवाहरुको प्रस्तावले नेकपाभित्र तरंग पैदा भएको छ । रमाइलो पक्ष त के भने संवोधन गर्नुको सट्टा फलानो पक्षका नेताहरुलाई भड्काइयो भन्दै अझै पनि अध्यक्ष केपी ओलीका पक्षका नेताहरुले आरोप प्रत्यारोप लगाइरहँदा विषय झन् पेचिलो बन्ने देखिएको छ ।
हुनत माधव नेपालले संसदमै संवोधन गरेर ओली सरकारका काम र पार्टीभित्रको हैकमी प्रवृत्तिको भण्डाफोर गर्ने बताएकै थिए । तर दशैं अगाडिको त्यो उद्घोष केवल बोलीमै सीमित भयो । ब्यवहारमा लागु भएन ।
युवा नेताहरुले पार्टीभित्र कतै पनि ठाउँ नपाइरहँदा एक कार्यकर्ताको जस्तै गरी बस्नुपरेपछि स्वभावत विद्रोहको स्वर गुन्जिएको हो ।
दुई पार्टी (एमाले र माओवादी केन्द्र) बीच एकीकरण भइसकेपछि सबै तहमा एकीकरण रुप त देखिएको छैन नै र पनि विद्रोह भने नेपाल पक्षका नेताहरुबाट बढी देखिएको छ जुन एमालेभित्रकै नेताहरु हुन् ।
यसले माओवादीका नेताहरुलाई खासै समस्या नभए पनि सचिवालय बैठकमा भने यसले तरंग ल्याउने नै छ ।
ओली सरकारले काम नगरेकाले विपक्षीले पनि मुद्दा बनाइरहेका छन् भने पार्टीभित्र पनि ओलीको हैकमी शासन देखिएको छ ।
हुनत बिहीबारको सचिवालय बैठकमा पार्टीको तल्लो तहमा एकीकरणका लागि नेताहरुको कार्यविभाजनको खाका पेश हुने सम्भावना रहेको औंल्याइएको छ । तर २१ युवाको पत्र नै हावी हुने देखिँदा प्रधानमन्त्री निवास हेर्न लायक हुने अपेक्षा गरिएको छ ।
२१ नेताको त्यो पत्रबारे नेपाल, झलनाथ खनाल र वामदेव गौतम बोलिसकेका छैनन् । प्रचण्डतर्फका नेताहरुको पनि प्रतिक्रिया आएको छैन । सम्भवतः उनीहरु रमाइलो मानिरहेका होलान् ।