arrow

नारायणहिटीका थप कोठा अवलोकन गर्न सकिने

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
narayhiti.JPG

काठमाडौँ ।  नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।

सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरुको कार्यकक्ष आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गरे।

शृङ्गार कक्षका रुपमा राखिएको सिन्धुली बैठकमा तत्कालीन रानीले पोशाक पहिरिने, शृङ्गार गर्ने तथा दिउँसोको खानापछि आराम गर्न प्रयोग गरिन्थ्यो । गणेश हिमाल कार्य कक्ष भनिने झापालाई प्रतीक्षालयका रुपमा उपयोग गरिएको थियो । यस कोठामा पूर्वराजाले छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउने पाहुनालाई राखिन्थ्यो ।

इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने गरी उपयोग गरिएको थियो । यो कक्षमा अन्य विशिष्ट व्यक्तित्वसँग पनि वार्ता हुने गर्दथ्यो ।

दरबारभित्रको सुनसरी लेखिएको कोठामा पूर्वराजा तथा राजपरिवारका सदस्यले श्रावण शुक्ल पूर्णिमाका दिन रक्षाबन्धन एवं नव यज्ञोपवित धारण गर्ने कार्यक्रम हुन्थ्यो । रक्षाबन्धन कक्ष भनेर समेत नामाकरण गरिएको यो कोठामा राजपरिवारका सदस्यको अन्य धार्मिक गतिविधि हुन्थ्यो ।

सप्तरी जिल्लाको नाममा नामाकरण गरिएको कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजको चोेखो (शाकाहारी) खाना राखिन्थ्यो । यसलाई भोजन कक्षको नामले समेत चिनिन्छ । पूर्व मुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्सवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागीको भोजन गर्ने कोठाका रुपमा समेत यसलाई उपयोग गरिएको नारायणहिटी दरबार सङ्ग्रहालयले जनाएको छ ।

सिराहा बैठक कक्षमा सप्तरी भोजन कोठामा भोज आयोजना हुँदा खानाअघि र पछि बसेर छलफल गरिन्थ्यो । धनुषा बैठक कक्षमा बडादशैँको टीकाग्रहण, विभूषण प्रदान गर्नेलगायत विभिन्न कामका लागि प्रयोग गरिन्थ्यो । पर्सा, चितवन र कपिलवस्तु बैठक कक्षलाई पाहुना कोठाका रुपमा उपयोग गरिएको थियो । अङ्गरक्षकहरुको कार्य कक्षमा पूर्वराजाको सुरक्षामा खटिएका सुरक्षाकर्मी बस्ने गरेको जनाइएको छ ।

दश कक्षको अवलोकनपछि खुला गरिएको घोषणा गर्नुहुँदै मन्त्री अधिकारीले दरबारभित्रको चलचित्र घर र पुस्तकालयबाहेकका सबै कोठा सर्वसाधारणले अवलोकन गर्न सक्ने जानकारी दिए। ती दुई कोठालाई पनि छिटोभन्दा छिटो अवलोकन गर्न सक्ने गरी तयारी गरिएको उनले जानकारी दिए ।

दरबारमा ५२ कक्ष भनिएका कुन कुन हुन् तिनको वास्तविक विवरण सङ्कलन गर्न मन्त्री अधिकारीले निर्देशन दिए। सङ्ग्रहालयको गुरुयोजना अन्तिम चरणमा पुगेकाले त्यसको कार्यान्वयनपछि आकर्षकस्थलका रुपमा विकास गरिने उनले बताए ।

मन्त्रालयले करीब एक महीनाअघि पूर्वराजाले पहिरिने श्रीपेच सर्वसाधारणको अवलोकनका लागि सार्वजनिक गरेको थियो । कार्यक्रममा पुरातत्व विभाग र नारायणहिटी दरबार सङ्ग्रहालयका अधिकारीहरुको पनि उपस्थिति थियो ।रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ