arrow

हेर्न नहुने दधिलिला प्रस्तुत गर्दै यसबर्षको कार्तिक नाच सम्पन्न 

logo
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
kartik-dance1.jpg

ललितपुर। हेर्न नहुने दधि लिला चान देखाउँदै पाटनमा कार्तिक नाच सम्पन्न भएको छ। गएको कार्तिक २६ गतेदेखि नियमित देखाइँदै आएको कार्तिक नाचको अन्तिम दिन कृष्णको कथामा आधारित हेर्न नहुने भनिएको दधि लिला प्रस्तुत गरिएको हो।

यो नाचमा कृष्ण, गोपिनीहरु र दही प्रसंग जोडिन्छ। गोपिनीहरु दही लिन गएको बेला नदी तर्नुपर्नेहुन्छ। त्यो बेला कृष्णले डुंगा चलाउँदै गरेका हुन्छन्। नदी तार्न गोपिनीहरुले कृष्णसँग सहयोग माग्छन्। सहयोगको बदलामा कृष्णले गोपिनीहरुसँग के दिने भनेर अड्को थाप्छन्।

गोपिनीहरुले फर्केर आउदाँ जे मागे पनि दिउँला भन्छन्। दही लिएर फर्केका गोपिनीहरुले फेरी नदी तार्न अनुरोध गर्छन्। कृष्णले दही नै माग्छन्। तर गोपिनीहरुले ल्याएको दही अरुकै लागि हुन्छ। त्यो थाहाभएपछि कृष्णले अरुका लागि भनेर ल्याएको दही म खान्न भन्दै फालिदिँदा, दहीको छिटा कृष्णलाई पर्छ।

दहीको छिटा कृष्णको खुट्टामा पर्ने भएकोले यसबाट अपशकुन हुने भन्दै यो नाच  हेर्न नहुने भनिएको कार्तिक नाच संरक्षण समितिका कार्यसमिति सदस्य तथा प्रचाप्रसार संयोजक संजय राजोपाध्यायले जानकारी दिए। यी सम्पुर्ण दृश्य, कलाकारहरुले नृत्य मार्फत प्रस्तुत गर्ने गर्छन् भने भावहरु कलाकारले संस्कृत र नेवार भाषामा संवाद गर्ने गर्छन्।

यो नाचमा भाँडो फुटेर दहीको छिटा पर्न जाने भएकाले अपशकुन हुने र हेर्न नहुने भनिएपनि यस्ता नाचमा सन्देश हुने उनको ठम्याइ छ। हेर्न नहुने भनिए पनि बर्षेनी यो नाच हेर्न सयौंको संख्यामा दर्शकहरु कृष्ण मन्दिर छेउको कात्तिक डबलीमा भेला हुने गर्छन्। कार्तिक नाचमा देखाइने बस्त्रहरण र दधिलिला नाचलाई हेर्न नहुने नाच भन्ने गरिन्छ।

यो कार्तिक नाचको प्रमुख आकर्षण र महत्वपुर्ण नाच नृसिंह अबतार र बराह अबतार हुन। कार्तिक नाचको प्रमुख र बिशेष नृसिंह अबतारमा धार्मिकसंगै तान्त्रिक विधिले हिरण्य कश्यपु दैत्यलाई नृसिंहले  वध गर्ने नाच मध्यरातमा देखाइने नाच हो। हिरण्यकश्यपु दैत्यलाई नृसिंहले वध गर्दा वास्तविकतामै वेहोश हुने हिरण्यकश्यपुलाई मंगहिटीको पानी ल्याएर ख्वाएपछि मात्रै होश आउने भएकोले यो नाच अलौकिक तथा दैवी शक्ति पनि रहेको, हिरण्यकश्यपु दैत्यको भुमिका निर्वाह गर्दै आएका किरण चित्रकारको दाबी छ।

प्रत्येक पाँच बर्षमा एक महिना कार्तिक नाच हुने : आउने बर्ष एक महिना देखाइने सिद्धि नरसिंह मल्लको पालादेखि नचाँइदै आएको ३ सय ७८  वर्ष पुरानो साँस्कृतिक कात्तिक नाच नियमित रुपमा १२ दिनसम्म  देखाइने गरेपनि अबदेखि प्रत्येक पाँच बर्षमा एक पटक एक महिना देखाइने भएको छ।

आउने बर्षदेखि प्रत्येक पाँच बर्षमा एक पटक एक महिना नै  देखाउन लागिएको कार्यसमिति सदस्य राजोपाध्यायले जानकारी दिए। आउने बर्ष एक महिना नै देखाउनका लागि यही बर्षको फागुनदेखि नै तयारी शुरु गर्ने समितिले जनाएको छ। 

मल्लकालिन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष कार्तिक महिनामा नृसिंह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको हो।

विक्रम सम्वत् १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरुको सल्लाह अनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर यो नाच चलाएका थिए। शुरुमा सो नाच कृष्णलिलामा आधारित भएको बताइन्छ। त्यतिबेला बराह र नृसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो।

पछि सिद्धिनरसिंहकै छोरा श्रीनिवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत राखेर नाच चलाएको इतिहास छ। त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित थपेर एक महिनासम्म यो नाच चलाएको बाद्यवादन गुरु केशब कृष्ण श्रेष्ठले बताए।

२००८ सालदेखि २०३७ सालसम्म भने प्रत्येक बर्ष  र्दुइ दिन मात्र यो नाच सञ्चालन गरिएको थियो। त्यतिबेला बराह नाच र नृसिंह नाच मात्र सञ्चालन गरिएको बताइन्छ। ३८ सालदेखि भने एक साता देखाउन थालियो। पछि २०७० सालदेखि कार्तिक नाच संरक्षण समितिको गठन भएपछि नियमित रुपमा १२ दिन देखाउन थालिएको हो।

अब भने प्रत्येक पाचँ बर्षमा  एक महिना नै नाचँ देखाइने भएको छ। यसका लागि आबश्यक जनशक्तिको अभाव नभएपनि वातावरणीय, आर्थिक तथा भाषागत समस्या भने छ। नेपालभाषा र संस्कृत भाषामा संवाद गर्नुपर्ने भएपनि कलाकारहरुले भाषा शुद्ध र स्पष्ट बोल्नेको कमी हुँदै गएको छ।

यो बर्ष पहिलो पटक मंगलबजारको ढुंगेधारा, जहाँको पानी हिरण्यकश्यपु दैत्यलाई ब्युँझाउन प्रयोग गर्नुपर्ने हो, त्यहाँ वातावरणीय प्रभावका कारण पानी नै नझरेपछि समस्या आएको थियो। अर्को समस्या भनेको एक महिना सञ्चालन गर्न आर्थिक समस्या हुने गरेकोमा अबदेखि नगरपालिकासँगै व्यापारी, बैंक लगायत अन्तर्राष्ट्रिय संस्थाहरुबाट पनि सहयोग मिल्ने भएपछि नाच एक महिना देखाइने भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ