इलाम। नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाली जनताको वर्तमान सरकारबाट धेरै अपेक्षा रहेको बताएका छन्। उनले जनताले जिताएर पठाएका प्रतिनिधिबाट धेरै अपेक्षा गरे पनि बितेको एक वर्षमा उल्लेखनीय काम नभएको भन्दै पत्रकारसँग दुःख व्यक्त गरे।
काङ्ग्रेसका पूर्वमहामन्त्री सिटौलाले सबै दलहरू मिलेर समस्या समाधान गरेकाले सबै एक भएर देश विकासमा लाग्न आग्रहसमेत गरे। “सरकारले काम गरोस्। त्यसका लागि सघाउन हामी तत्पर छौँ,” सिटौलाले भने, “तर विपक्षी दलका नेताले समेत त्यसमा औँला ठड्याउन सक्नुपर्छ।”
कार्यक्रममा एक नं प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रसिद्ध धार्मिकस्थल गजुरमुखीलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए। प्रदेशसभा सदस्य धीरेन शर्माले माङसेबुङ जस्तो पवित्र धार्मिक स्थललाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गर्नसमेत पहल गरिने जानकारी दिए।
माङसेबुङमा वृद्धाश्रम बन्ने
माङसेबुङ गाउँपालिका–२ इभाङमा एक करोड रूपैयाँको लागतमा सुविधासम्पन्न वृद्धाश्रम बन्ने भएको छ। वृद्धाश्रमको आज एक कार्यक्रमबीच नेपाली काङ्ग्रेसका नेता सटौलाले शिलान्यास गरे।
वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा नेत्र न्यौपानेले तीन रोपनी जग्गादान दिएका छन्। भवनका लागि पाँच रोपनी जग्गा आवश्यक पर्ने भएकाले अन्य दुई रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मञ्चले खरीद गरेको छ। वृद्धाश्रम निर्माणको जिम्मा मञ्चले लिएको मञ्चका अध्यक्ष दीपक गौतमले जानकारी दिए।
वृद्धाश्रम निर्माणका लागि स्थानीय बासिन्दा, गाउँपालिका, नगरपालिका, प्रदेश सरकारसँग सहयोग माग गर्नेसमेत उनले बताए। “वृद्धाश्रम सञ्चालनका लागि पाँच हजार पाँच सय व्यक्तिबाट दैनिक एक रूपैयाँका दरले पाँच वर्षमा करीब एक करोड रूपैयाँ हुन्छ, यसलाई अक्षयकोष स्थापना गरी यसको ब्याजबाट सञ्चालन गरिन्छ,” अध्यक्ष गौतमले भने।
बीस कोठाको सुविधासम्पन्न भवनमा १५ कोठामा दुई-दुई जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने गजुरमुखी सामाजिक विकास मञ्चले जनाएको छ।