‘बिपीको विद्रोह’ पूर्वराष्ट्रपति डा. यादवद्वारा लोकार्पण
रासस,
प्रकाशित २०७५ मंसिर ७ शुक्रबार
507
Shares
काठमाडौं। पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताएका छन्। पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को आज यहाँ लोकार्पण गर्दै उनले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता औंल्याए।
पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाव दिए।
गुट उपगुटको राजनीतिमा नेता डुबेको छ, उनले भने, “लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ।”
पूर्वराष्ट्रपति डा यादवले बिपीको विद्रोह पुस्तकले विसं २००७ देखि २०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिए।
एक प्रसङ्ग कोट्याउँदै उनले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताए। नयाँशक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले बिपीको आदर्शबाट नै आफू विद्रोहमा लागेको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको छ भने।
“बिपीलाई सानो घेरामा राख्नु हुँदैन, उनले भने, “बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो।”
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराईले बिपीले अधुरो छाडेको काम सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताए।
पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे।
समालोचक डा ज्ञानु पाण्डेले बिपीमा आफूप्रति इमान्दार हुनुपर्छ भन्ने दर्शन रहेको उल्लेख गर्दै विद्रोहको दर्शनको मुख्य अभिव्यक्ति नै दायित्व बोध भएको बताइन्।
विद्रोहका लागि विद्रोह नभई देश, जनता र समाजका लागि विद्रोह गर्ने व्यक्ति बिपी कोइराला भएको बताउँदै उनले बिपीको सार्थक क्रियाकलापको दृष्टान्तलाई पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ भनिन्। “प्रजातान्त्रिक आन्दोलनको इतिहासको केन्द्रबिन्दुमा बिपीलाई राखेर विद्रोहको सन्दर्भ पुस्तकमा छ, यो इतिहासको किताब हो, तर साहित्यक छ”, पाण्डेले भनिन्।
राजनीतिक विष्लेषक हरि शर्माले बिपीका जीवन सङ्घर्ष पुस्तकले उजागर गरेको उल्लेख गर्दै पुस्तकले बिपीलाई राजनीतिक रुपमा विद्रोही स्थापित गरेको भएपनि उनी सामाजिकरुपमा पनि विद्रोही भएको बताए। क्रान्तिलाई पारदर्शी बनाउने नेताको रुपमा बिपीलाई चित्रण गर्दै उनले तस्वीर दिमागमा आउने गरी संवादको शैलीमा किताब बगेको टिप्पणी गरे।
पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गरे।
‘बाह्रखरी डटकम’का सम्पादक प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरुप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासंग सम्बन्धीत खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिए।