ललितपुर। ललितपुरको पुरानो बस्ती खोकनाको कुदेशमा प्राचिन इनार लगायतका पुरातात्विक सामग्रीहरु भेटिएका छन। कुदेश अर्थात खोकना देखि सिकाली जाने स्थानमा रहेको चिबा चैत्य नजिकमा स्थानियको सक्रियतामा उत्खनन गरिएकोमा प्राचीन माटाका भाँडाकुडाँ, इनार लगायतको पुरातात्विक सामग्रीहरु भेटिएका हुन।
खोकनाको कुदेशमा करिब डेढ फिट जति उत्खनन गरेको बेला ती सामानहरु भेटिएको स्थानीयले बताएका छन्। फास्ट ट्रयाक लाने तयारी भएको क्षेत्रमा खन्ने क्रममा माटाका, ढुंगाका बिभिन्न सामग्री फेला परेका हुन।
स्थानियले यस स्थानमा पुरातत्व बिभागले थप उत्खननमा चासो देखाउनुपर्ने बताउदै आएका छन्। यस ठाँउमा पुरातत्वकाहरु आउदा खेत मात्र छ भनेर झुठो पत्र नेपाली सेना लाई दिइएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन। खनिएका स्थानमा उत्खनन गरेर हेर्ने क्रममा पुरानो बस्ति नै भेटिन सक्ने स्थानियको अनुमान छ। अन्वेषक छत्रबहादुर कायस्थले यस ठाँउमा एक हजार वर्ष अघि देखि नै बस्ति हुनु पर्ने अनुमान गरे।
काठमाडौको टेकु पचलीका एक मृतव्यक्तिलाई अन्तिम संस्कारको लागि लैजादै गर्दा जिवित भएर उठेको र त्यसरी जीवित भएको व्यक्तिलाई घर फर्काउन नहुने परम्परा अनुसार त्यहि नै उनले बस्ती बसालेको भन्ने जनविश्वास छ। मृत व्यक्ति जिवित भएर बस्ती बसालेकोले त्यस बस्तीलाई कुदेस भनिएको जनश्रृति छ।