शोकमा सप्तरीका सबै स्थानीय तह बन्द

प्रकाशित मिति : २०७५ मङ्सिर ८ शनिबार

सप्तरी । बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ ।

सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा गए राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उहाँकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो । पाँच जनाको मृत्युले भूतही र पातो क्षेत्र मात्र नभई सिङ्गो जिल्ला नै शोकमा डुबेको हो ।

शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताए।

घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।

दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ । प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत माग गरे।

यसैगरी आजै अपराह्न घाइतेलाई भेट्न राजविराज आउनुभएका प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले मृतक परिवारलाई जनही रु एक लाख र घाइतेको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने घोषणा गरे। रासस

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ