निर्मलाका बुबा यज्ञराज विमान चढ्न नपाएपछि गाडीबाटै काठमाडौं, यसकारण दिइएन विमान चढ्न
प्रकाशित २०७५ मंसिर ९ आइतबार
437
Shares
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको काण्डमा अनसन बस्दाबस्दै बिरामी परेका उनका बाबु यज्ञराज र आफन्त अलपत्र परे । छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त काठमाडौं आउने क्रममा विमान चढ्न नदिएपछि उनीहरु कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका हुन् ।
बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं आउँदै गर्दा उनीहरुलाई विमान चढ्नै दिइएन । त्यसपछि उनीहरु अलपत्र परेका छन् ।
दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका यज्ञराजलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं ल्याउने तयारी थियो ।
गेटा विमानस्थलमा यज्ञराजकी पत्नी दुर्गादेवी र दुई जना उनीहरुका आफन्त अलपत्र परेका हुन् ।
किन मानेन एयरलाइन्सले ल्याउन ?
सामान्यतया कुनै पनि गम्भीर प्रकृतिका बिरामीलाई विमान चढाउनुअघि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ चाहिन्छ । यज्ञराजका बारेमा कुनै पनि प्रेस्क्रिप्सन नभएका कारणले उनलाई विमानमा राखेर ल्याउन नमिलेको बुद्ध एयरलाइन्सका एक कर्मचारीले जनाएका छन् ।
उनले हाम्राकुरासंग भने, ‘खासगरी बिरामी भएर थप उपचारका लागि भन्दै कतै लैजानुपर्दा चिकित्सकको स्वीकृति चाहिन्छ । त्यो स्वीकृति नदेख्दा विमानले रिक्स लिन चाहन्न ।’
अर्का एक एयरलाइन्स कर्मचारीका अनुसार मानसिक सन्तुलन ठीक नभएका बिरामीलाई विमानमा हाल्न झनै समस्या हुन्छ । एक जना बिरामीका कारण अरुलाई खतरा हुन सक्ने भएपछि त्यो रिक्स विमानले लिन नचाहने उनले बताए ।
छोरीको हत्यापछि विक्षप्त यज्ञराज अनसनका क्रममा रातभर नसुत्ने र दिनभर छोरी छोरी भन्दै चिच्याउने बर्बराउने गर्दथे । उनको अरु स्वास्थ्य संगै मानसिक स्वास्थ्यसमेत कमजोर हुँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यज्ञराजलाई थप उपचारका लागि जहाजबाट काठमाडौं ल्याउन ४ जनाको टिकटको व्यवस्था गरेको थियो ।
गाडीमै काठमाडौं ल्याइँदै
हवाई मार्गबाट काठमाडौं ल्याउन खोजिए पनि विवाद भएपछि उनलाई एम्बुलेन्समा हालेर काठमाडौं ल्याइँदै छ । उनीहरु दिउँसोसम्म काठमाडौं आइपुग्दैछन् । काठमाडौं आइपुगेपछि उपचारका लागि उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा राखिन सकिने बुझिएको छ ।