‘सत्ताधारी अरिंगालहरू उल्टै खनिनु ! कस्तो जंगलको राज ?
प्रकाशित २०७५ मंसिर ९ आइतबार
613
Shares
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या र त्यसपछि पत्ता लाग्न नसकेको हत्यारा साथै सरकारले गठन गरेका विभिन छानबिन समिति र तिनै समितिहरुबाट पनि भइरहेको दुरुपयोगले गर्दा सरकारको हैसियत छर्लङ्ग हुँदैछ ।
गल्ती गर्नेलाई कार्वाही गर्न नसक्ने सरकारप्रति सर्वसाधारणको वितृष्णा त बढ्दै गएको छ नै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ९ महिनामा केपी शर्मा ओली नेतृत्वको सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाइरहेको छ ।
निर्मला काण्डमा त सरकारको सबैभन्दा लज्जाजनक प्रदर्शन भन्दै चर्को आलोचना भइरहेको छ ।
यसैबीच नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले निर्ममा काण्डमा सरकारको थप आलोचना गरेका छन् । सामाजिक संजाल ट्वीटरमा उनले ‘निर्मला बलात्कार–हत्या प्रकरण ४ महिना पुग्दा पनि २।३ को सरकार कानमा तेल हालेर सुत्नु, न्याय माग्दा विपन्न बाबुआमाको झन् विचल्ली हुनु; न्यायको संघर्षमा साथ दिनेमाथि सत्ताधारी अरिंगालहरू उल्टै खनिनु ! कस्तो जंगलको राज ? सामाजिक फासिवादतर्फको यात्रा ? मानवताको स्खलन ? चूप नबसौं ! अझ जोडले बोलौं !’ लेखेका छन् ।
डा भट्टराईले निर्मला काण्डमा समग्रमा अहिलेसम्मको घटनाक्रमलाई समेटेर सरकारलाई सचेत गराएका छन् र उनले यसका विरुद्ध खरो भएर उत्रन आब्हान पनि गरेका छन् ।