बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका –९ (ढोर) नविमा आगलागी हुँदा ३० घर जलेका छन । आईतबार रातको करिब दुई बजेतिर एक घरबाट सल्किएको आगोका कारण ३० घर पूर्णरुपमा जलेका छन् । नजिकै रहेका २३ घर भने जोगाउन सफल भएको हनुमान ध्वज गण गुल्मका नेपाली सेनाको टोलीले जनाएको छ ।
ढोरपाटनका बासिन्दा चैत्रदेखि कार्तिक महिनासम्म उक्त स्थानमा बस्ने गर्दछन् । उनीहरू चिसो मौमसमा जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । दुई चार जना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । यसबाट मानविय क्षती भने हुन पाएन ।
बस्ती सुनसान रहेको अवस्थामा ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण अचानक लागेको आगो फैलन पाएको स्थानियले बताएका छन ।
आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन । उक्त स्थानका काठको फलेकले छाएका र ढुंगाले छाएका घरहरु रहेका छन । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ उक्त क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । सेनाले आगलागीबाट थप क्षति हुनबाट जोगाएको छ । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिन सफल भएको हनुमान ध्वज गुल्म ईन्द्र शाहीले बताए ।
शाहीका अनुसार अचानक एक घरबाट सल्किएको आगोले क्रमशः संगै जोडिएका अन्य घरहरु पनि जलेर नष्ट भएका हुन्। घटनास्थल देखि करिब ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाए लगत्तै गुल्मका गुल्मपति मेजर रविजंग खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो निययन्त्रणमा शाहीले बताए । आगोलागीबाट कित क्षती भएको भन्ने एकिन हुन सकेको छैन ।