इलाम । इलामको माङसेबुङ गाउँपालिकामा पर्ने गजुरमुखी धाम नजिक बृद्धाश्रम निर्माण हुने भएको छ । एक करोड रूपैयाको लागतमा आउँदो एक बर्षमा निर्माण सम्पन्न हुने गरी बृद्धाश्रम शिलान्यास गरिएको हो ।
पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्ण सिटौला, प्रदेश सदस्यहरु धिरेन्द्र शर्मा, राम राना र माङसेवुङ गाउपालिकाका प्रमुख डिकेन्द्र इदिङ्गोले शुक्रवार संयुक्तरुपमा बृद्धाश्रमको शिलान्यस गर्नुभएको हो । वृद्धाश्रम निर्माणका लागि स्थानीयबासिन्दा मित्र न्यौपानेले तीन रोपनी जग्गादान दिएका छन । भवनका लागि थप २ रोपनी जग्गा गजुरमुखी सामाजिक विकास मंचले खरिद गरेको थियो । सो अवसरमा जग्गादाता न्यौपाने परिवारलाई सम्मान गरिएको थियो ।
मञ्चको अगुवाईमा निर्माण हुने २० कोठे बृद्धाश्रममा ३० जना अट्न सक्ने क्षमताको हुनेछ । मंचले लामो समयदेखि बिद्धाश्रम निर्माण गर्न पहल गरे पनि स्रोतको अभावमा सकेको थिएन । भवन निमार्णको लागि ठुला दाताको खोजी गरिने छ । भवन निमार्णको लागि ठुलो हिस्सा मञ्चका अध्यक्ष दिपक गौतम आफैले सहयोग गर्ने समेत कार्यक्रममा बताए ।
बृद्धाश्रम संचालनको लागि रु १ मा करोड अभियान संचालन गरिने बताइएको छ । राजनीतिक, सामाजिक, जातीय बिभेदहरु मेटाउदै सवैलाई एकै मालामा उन्ने हाम्रो अभियान हो । हाम्रो त सबैलाई जोड्ने प्रयासमात्र हो, यसको संरक्षण, संचालन, ब्यवस्थापन सबै स्थानीयहरु नै सरिक भएर गर्ने हो, मञ्चका अध्यक्ष गौतमले बताए ।
यसै क्षेत्रमा जन्मिएर अन्यत्र पेशा व्यवसाय गर्नेदेखि सवै समाजसेवीलाई सहयोगका लागि आग्रह समेत गरिएको छ । अहिले विभिन्न दाताले रकम दिन थालेपछि मंचले भब्य समारोहबीच शिलान्यास गरेको हो । शिलान्यास कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कृष्ण सिटौलाले समाजलाई एकताबद्ध बनाउदै जोड्न तथा असाय बृद्धबृद्धालाई सम्मानसाथ जीउने वातावरण बन्ने बताए ।
सुविधासम्पन्न भवनमा १५ कोठामा २/२ जनाका दरले वृद्धवृद्धा रहने र अन्य कोठामा भान्छाघर, प्रशासन, बैठक कक्ष राखिने मञ्चले जनाएको छ । बृद्धाश्रम परिसरमा कृषि उत्पादन र बगैंचा पनि निर्माण गरिने भएकाले थप जग्गाकालागि पनि संस्थाले पहल गरिरहेको बताइएको छ । बृद्धाश्रमलाई दिर्घकालीन रुपमा संचालन गर्न स्थानीयहरुलाई नै सहभागी गराउदै रु १ मा करोड अभियान समेत संचालनमा ल्याइएको छ ।
यो अभियानबाट उठेको पैसालाई छुट्टै कोष बनाएर त्यसको ब्याजबाट बृद्दाश्रम संचालन गर्ने योजना बनाइएको संस्थाका सचिव माधव चम्लागाईले बताए । उनका अनुसार एकजना ब्यक्तिले दैनिक रु १ का दरले एक बर्षसम्म दिदाँ तीनसय पैँसठी हुने साथै ५ बर्षसम्म लगातार रु एकका दरले पाँच बर्षसम्म दिदाँ अठारसय पच्चीस हुन्छ यसरी नै ५५ सय जनाले ५ वर्षको रकम जम्मा गर्दा १ करोड भन्दा बढी रकम उठ्ने बताइएको छ । यसरी सबै स्थानीयहरुलाई जोड्दै उठेको रकमको व्याजले आश्रम सञ्चालन गर्ने संस्थाको योजना छ ।
देशभरका बृद्धाश्रमको अवस्था हेर्दा निर्माण गर्नु भन्दा सञ्चालनमा कठिनाई देखिएकाले यो अभियान चलाएको उहाँको भनाई छ । गजुरमुखी धाम भन्दा भन्दा ४ सय मिटर दक्षिणमा बृद्धाश्रम निर्माण हुनेछ । बृद्धाश्रम निर्माणपछि यस क्षेत्रमा अन्य सामाजिक कार्य गर्दै लैजाने मञ्चको योजना रहेको छ । ४ वर्षअघि स्थापना भएको यो संस्थाले छोटो समयमा नै बृद्धाश्रम निर्माण र सञ्चालनको बटुलेको हो ।
इलामको माङसेबुङ गाउपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा सनिवार ३ दिनसम्म दिनरात मेला घन्कियो । द्वन्दकालमा जिल्लाका विभिन्न स्थानमा लाग्ने परम्परागत ढंगले लाग्ने मेलाहरु करिव वन्द जस्तै भएको बेलामा सिलान्यास कार्यक्रम र भद्रगोल कार्यक्रमका चर्चित कलाकार अर्जुन घिमिरे पाँडे तथा कुमार कट्टेलको जिग्री तथा गायिका ज्योति मगरको साँझको प्रस्तुतिले समेत मेलाको आकर्षक बढेको थियो । बर्षौ देखि लाग्दै गरेको मेलाको राैनक नै थपिएको छ ।