arrow

महिला हिंसा अन्त्य गर्न पुरुषलाई जिम्मा ! 

देशले राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख महिला पायो तर गाउँले महिलाले के पाइन् ? 

logo
ज्ञानु भट्टराई 
प्रकाशित २०७५ मंसिर १० सोमबार
women-right.jpg

नेपाली समाज पितृसतात्मक सोचबाट गुज्रिदै चलिरहेको छ ।  रुढीबादी पराम्परा, कुप्रथा तथा पितृसत्तात्मक सोचसहित अगाडि बढेको नेपाली समाज हालसम्म पनि झट्ट हेर्दा परिवर्तन भए जस्तो देखिए पनि खास‌ै परिवर्तन भने भएको पाइँदैन ।

सामान्य अर्थमा महिला हिंसा भनेको कुनैपनि महिलाले महिला भएकै कारण भोग्नु परेको विभेद भन्ने बुझाउँछ । एउटी महिलाले आफु महिला भएकै कारण विभिन्न खाले हिंसाको शिकार बन्नु परेको छ । एउटी महिला छोरी भएर जन्म लिएदेखि मृत्युवरण नभइन्जेलसम्म हिंसामा परिरहेकै हुन्छिन् । 

त्यसमाथि नेपाली समाज पितृसत्तात्मक सोचबाट जकडिएको छ । समाजले महिलालाई हेर्ने दृष्टिकोण गलत छ । घर , परिवार , समाज अनि देश नै पुरुषको अधिनमा चलिरहेको छ । यस्तो परिप्रक्षमा केही बर्षदेखि अधिकारकर्मीहरुले हिंसा विरुद्ध आवाज उठाउँदै आएका छन् । 

मानव अधिकार ,महिला अधिकार साथै स्वतन्त्रता प्राप्तिका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय अधिकारकर्मीहरुले  विभिन्न किसिमको अभियान चलाउँदै आएका छन् । यस्ता खालका अभियान तथा आन्दोलनले  खासै परिवर्तन ल्याउन त  सकेको देखिदैन  । यसको मतलब कुनै पनि किसिमको परिवर्तन नै आएको छैन भन्ने भने होइन । 

तुलनात्मक हिसालले हेर्ने हो भने राजनीतिक घटनाक्रमसंगै २००७ सालदेखि यताको विभिन्न राजनीतिक आन्दोलनले केही उपलब्धि हात पार्न सफल भएको छ । राणा, राजा र  पञ्चायती व्यवस्थाको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको छ । यसैको फलस्वरुप महिला सशक्तिकरण, समावेशीकरण र  समान अधिकारका लागि  नेपालको संविधान २०७२ को धारा ३८ मा लैङ्गिक समानताको अधिकार सम्बन्धि छोरा र छोरीसमान वंशीय हक हुने ब्यवस्था गरेको छ । 

प्रजनन स्वतन्त्रता तथा स्वास्थको अधिकारलाइ उल्लेख गरिएको छ भने राज्यका सबै निकायमा समानुपातिक समावेशीकरणको ब्यवस्था समावेश गरेको छ  । यसैगरी सम्पत्तिमा श्रीमान र  श्रीमतीको समान हकको ब्यवस्था गरेको छ। यी विविध अधिकार संविधानमा उल्लेख त भयो तर गाउँ तह र सामान्य महिलाको जीवनमा यो व्यवस्थाले खासै फरक पार्न सकेको छैन ।

आज पनि महिलाहरुको अवस्था  दयनीय छ । विभिन्न किसिमको हिंसाका घटनाहरु भइरहेकै छन् । शारीरिक, मानसिक , यौनिक, सामाजिक, आर्थिक, राजनैतिक तथा भा‌ैतिक सबै किसिमको हिंसाको घटनाले महिला विक्षिप्त भएका  छन् । 

देशले महिला राष्ट्रपति पायो, सभामुख पायो, प्रधानन्यायाधीश पायो, मन्त्री पायो, सासद पायो , उपप्रमुख पायो र वडाको वडासदस्यसम्म पायो । तर यति धेरै महिला नेतृत्व देशले पाउँदै गर्दा गाउँको  सामान्य महिलाको जीवनले के पायो ?  महिलाको दैनिकीमा के फरक आयो ?  के–के कुरामा सुविधा पाए ? नत समाजले महिलालाई हेर्ने दृष्टिकोण बदलियो । नत दिनचर्या फेरियो न कुनै नेतृत्वमा पुगेका महिलाको निर्णायक भुमिका रह्रो, न कुनै महिलाले आफ्ना योजना ल्याउन सके विना उपलब्धि  खाली ठाउँ मात्र भर्न पुगे महिला ।  

सजावटका लागि घरको भित्ताहरुमा कोरिएको काल्पनिक तथा  नक्कली तस्विर जस्तो भएको छ  महिलाको उपस्थिति ।यस्तो खालको महिलाको सहभागिताले कुनै परिवर्तन ल्याउने अपेक्षा राख्न सकिँदैन । 

व्यस्वस्था जस्तो सुकै भएपनि व्यवहार राम्रो भयो भने मात्र  त्यसबाट परिवर्तनको आशा राख्न सकिन्छ । नेपाली समाजको संरचनागत परिप्रेक्ष्यमा हालसम्मको  अवस्थामा हेर्दा महिला हिंसा घरभित्र  होस् या बाहिर आफन्तबाट होस या अपरिचितबाट तर प्रायः जसो हिंसाका घटना घट्नुमा  प्रत्यक्ष  या अप्रत्यक्ष  कुनै न कुनै किसिमले पुरुषको हात हुने गरेको पाईन्छ । 

यस्को अर्थ महिलाले  हिंसा नै गाराउदिन् या गर्दिनन् भन्ने होइन । महिलाले महिलामाथि पनि हिंसा गरिरहेको देखिन्छ । महिलाद्वारा महिलामाथि हुने  हिंसा  तुलनात्मक रुपमा  केही कम भएको देखिन्छ । 

तसर्थ महिला हिंसा अन्त्यको लागि महिला सशक्तिकरण, जागरण अभियान, महिला अधिकारको आन्दोलन, नारा जुलुस अनि छलफल अन्तरकृया मात्र गरेर पुग्दैन । अब महिला हिंसा अत्य गर्ने जिम्वेवारी पुरुषलाई दिनुपर्छ । त्यसकारण  छोरालाई नारी संवेदनशीलता बुझाउन पर्छ, नारीत्वको अनुभूत गराउन सक्नु पर्छ र समग्र नारीको महत्त्व बुझ्न सक्ने शिक्षा दिनुपर्छ अनि मात्र महिला माथि हुने हिंसा घट्छ । महिलाहरुको आत्मबल बढ्छ र महिलाको सहभागिता मात्र होइन रहेक ठाउँमा  सफल नेतृत्व लिन सक्छ । त्यसपछि हामीले साचेजस्तो, कल्पना गरेजस्तो सुन्दर , सुखि र समुन्नत नेपाल बन्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ