कम्युनिष्ट सरकार पछि आकासियो मूल्यवृद्धि, भारतमा घट्दा नेपालमा किन बढ्यो ?
प्रकाशित २०७५ मंसिर १० सोमबार
383
Shares
काठमाडौं । नेपालमा कम्युनिष्ट सरकार आएपछि मूल्यबृद्धि आकासिएको भेटिएको छ । अघिल्लो वर्षको माघ महिनादेखि नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकार बनेपछि नेपालमा मूल्यबृद्धि बढेको सरकारी तथ्यांकले देखाएको हो । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५।७६ को पहिलो त्रैमासिक समीक्षामा नेपालको मूल्यबृद्धि आकासिएको देखिएको हो ।
अघिल्लो वर्ष यही समयको मूल्य बृद्धिको दरसँग तुलना गर्ने हो भने यो वर्ष भारतको भन्दा नेपालको मूल्यबृद्धि बढी देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति आधार मूल्यमा ३.१ प्रतिशत र भारतको ३.६ प्रतिशत रहेको थियो । यो वर्ष २०७५ असोज महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.७ प्रतिशत र भारतको ३.३ प्रतिशत रहेको छ ।
त्यस्तै, यो आर्थिक वर्षको पहिलो ३ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.२ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थ, आधारभूत धातु, निर्माण सामग्री, तथा खाद्य एवम्पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत रुपमा हेर्दा नेपालको पहाडि भेगमा मूल्यबृद्धि छ । त्यसको तुलनामा हिमाली र तराई भेगमा मूल्यबृद्धि क्रमशः कम देखिएको छ ।
पहिलो ३ महिनामा उपभोक्ता मुद्रास्फीति पहाडमा ६.१ प्रतिशत, तराईमा ४.३ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र काठमाडौं उपत्यकामा ४.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३.० प्रतिशत, ३.६ प्रतिशत, ५.१ प्रतिशत र २.३ प्रतिशत रहेको थियो । भारतीय बजारमा मूल्य घटेको भएपनि नेपालमा बजारमा व्यवसायीहरुले गरेको मूल्य बृद्धि रोक्न नसक्दा नेपालको मुद्रास्फीति दर अघिल्लो वर्षको भन्दा बढी भएको जानकारहरु बताउँछन् ।
पहिलो ३ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति ०.५ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा मूलतः खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घिउ तथा तेल एवम् सुर्तीजन्य पदार्थलगायतका उप–समूहका वस्तुहरुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।
अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५.२ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवम् घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो ।