घडेरी र पर्याप्त रकम नभएको भन्दै भूकम्पपीडितले गरे रकम फिर्ता
प्रकाशित २०७५ मंसिर १० सोमबार
603
Shares
धादिङबेशी । सरकारबाट घर बनाउन रकम लिएका धादिङका एक भूकम्पपीडितले सरकारबाट लिएको रकम नै फिर्ता गरिदिएका छन् । नीलकण्ठ नगरपालिका–९ मुरलीभञ्याङका चेतनाथ लम्सालले आफूले लिएको ५० हजार फिर्ता गरिदिएका हुन् ।
राष्ट्रिय प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईमा गएर लम्सालले रकम फिर्ता गरिदिएका हुन् । घर बनाउन आफूसँग उपयुक्त घडेरी र पर्याप्त रकम नभएकाले सरकारबाट लिएको रकम फिर्ता गरिदिएको लम्सालले बताए । यसअघि धादिङबेशी बीचबजारका डिलबहादुर श्रेष्ठले सरकारबाट लिएको ५० हजार फिर्ता गरेका थिए ।
धादिङमा ८३ हजार लाभग्राही रहेकामा ३० हजारले घर पूर्णरुपमा बनाएर तेस्रो किस्ता लिइसकेको र लाभग्राहीमध्ये ३० हजारले पहिलो किस्ता लिएर पनि अझै घरको जगसमेत हालेका छैनन् । लाभग्राहीको नामावलीमा नाम नभएका १८ हजारले निवेदन हालेका छन् । सरकारले आउँदो पुस मसान्तसम्म रकम लिएर घर नबनाएकालाई पैसा फिर्ता गर्न सूचना जारी गरेको छ । रासस