arrow

पत्रकार सम्मेलनमा उपहार, नगद नलिन आह्वान

logo
रासस,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
FNJ-logo.jpg.jpeg

बनियानी। नेपाल पत्रकार महासङ्घ, झापा शाखाले पत्रकार सम्मेलन वा समाचार सम्प्रेषणका नाममा प्रदान गरिने कुनै उपहार, नगद वा अन्य खर्च नलिन झापाली पत्रकारलाई आह्वान गरेको छ।

महासङ्घ झापा शाखाको सोमबार बिर्तामोडस्थित कार्यालयमा बसेको बैठकले पत्रकार सम्मेलनमा दिइने खर्च असान्दर्भिक भएको र यसले विकृत रूप लिएकाले त्यस्तो खर्च नलिन पत्रकारलाई आह्वान गरेको हो।

बैठकपछि अध्यक्ष तारामणि सापकोटा र सचिव सन्तोष आचार्यले जारी गरेको विज्ञप्तिमा पत्रकार सम्मेलनमा दिइने खर्चले समाचार नै नहुने विषय समाचार बन्ने र वास्तविक समाचार, समाचार नबन्ने अवस्था विकास हुँदै गएको उल्लेख छ।

महासङ्घ झापाले पत्रकारिता स्वच्छ, मर्यादित, स्वतन्त्र र व्यावसायिक बनाउने जिम्मेवारी नागरिक समाज, सङ्घ, संस्था, सरकारी निकाय सबैको साझा भएकाले पत्रकार सम्मेलन आयोजना गर्दा वा समाचार प्रसारणका लागि कुनै उपहार, खर्च वा भत्ता वितरण नगर्न आह्वान गरेको हो।

विज्ञप्तिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ र नेपाल पत्रकार महासङ्घ झापाको निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गर्न गराउन पत्रकार महासङ्घका सदस्यलाई आह्वान गर्दै सहयोगका लागि नागरिक समाजलाई अनुरोध गरिएको छ।

पाँच पत्रकारलाई आर्थिक सहयोग
सोही बैठकले झापाका पाँच पत्रकारलाई उपचार सहयोग रकम प्रदान गर्ने निर्णय गरेको छ। पत्रकार सहारा उपचार कोष सञ्चालक समितिको पहिलो बैठकबाट निर्णय भई सिफारिश भएका मिर्गौला रोगबाट पीडित पत्रकार अमृतलाल श्रेष्ठ र माया पकुवाल, क्यान्सर रोगबाट पीडित पत्रकार शुभद्रा खड्का अधिकारी, दुर्घटनाबाट घाइते धर्मेन्द्र भट्टराईलाई जनही रु २० हजार र पत्थरी रोगको उपचारका लागि वेदप्रकाश हुमागाईंलाई रु सात हजार प्रदान गर्ने निर्णय भएको हो।

पत्रकार महासङ्घ झापा शाखाले कोष स्थापनापछि पत्रकारलाई पहिलोपटक संस्थागत सहयोग प्रदान गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ