काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गन लागेको विरोधमा नेपाल विद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास, गुल्मीले सांकेतिक विरोध गरेको छ । मंगलबार नेविसंघले सांकेतिक विरोधस्वरुप भीख संकलन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि जम्मा भएका विद्यार्थी नेता तथा कार्यकर्ताले राष्ट्रपति भण्डारीका लागि गाडी खरिद गर्ने भन्दै भीखका रुपमा ६ सय ८६ रुपैयाँ संकलन भएको जानकारी इकाई सभापति पुनाराम घिमिरेले दिए । भीखबाट संकलन गरिएको रकम जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रधानमन्त्री राहत कोषमा पठाईदिने जानकारी सभापति घिमिरेले दिए ।
भीख संकलन कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका नगर सभापति छवि पाण्डे जिल्लास्थित विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो ।
जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै नेविसंघले सांकेतिक विरोधस्वरुप भिख संकलन गरेको हो ।
सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटप्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि त्यस निर्णयको चौतर्फी विरोध भइरहेको छ ।