arrow

असहाय बालबालिकालाई शिक्षाका लागि सहुलियत आवश्यक : नेपाल

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
nepal5.jpg

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले असहाय बालबालिकाका लागि शिक्षाका क्षेत्रमा सरकारले विशेष सहुलियत सहितको व्यवस्था गर्नु पर्ने बताएका छन ।  राजधानीमा मंगलबार ‘ज्योतिको घर नेपाल’को ९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले असहाय बालबालिकाका लागि उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा उपलब्ध गराउनु पर्ने बताएका हुन ।

‘सहारा नभएका बालबालिकाहरु धेरै पछाडि परेका छन, सरकारले उनीहरुको अध्ययनका लागि शिक्षाका क्षेत्रमा विशेष व्यवस्था गर्नु आवश्यक छ,’ नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले भने ।  उनले सरकारले मंगलबारबाटै सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमले समेत असहाय बालबालिकाका धेरै सवालहरुको सम्बोधन गर्ने बताए । सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने अवधारणा सो कार्यक्रममा रहेको नेपालले जनाएका हुन ।

संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा समेत जोड दिए । कार्यक्रममा युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारीले पिछडिएका बालबालिकाको अधिकार र शिक्षाका लागि राज्यले गर्नुपर्ने काम ‘ज्योतिको घर नेपाल’ ले गरेको उल्लेख गरे ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले अल्पसंख्यक तथा अनाथ बालकालिकाको शिक्षाका ज्योतिको घरले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्लीराम गिरीले बालिबालिका, ज्येष्ठ नागरिक, महिला र असहाय नागरिकको सम्मान नभएसम्म मुलुकको उन्नती नहुने बताए ।  नेपाली चलचित्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिका प्रतिभा उजागर गर्न ज्योतिको घर नेपाल जस्ता समाजसेवी संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाए ।
 
कार्यक्रममा साझेदार संस्था भेन्चर संयुक्त राज्य अमेरिकाका संस्थापक मेलोडी स्कूग, संस्थाका अध्यक्ष विजय लामा, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्जवल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए ।
‘ज्योतिको घर नेपाल’ संस्थाले वादी र चेपाङ समुदाय, भूकम्पपीडित, अनाथ गरी ५ सय ५५ बालबालिकालाई छात्रावासहित निशुल्क शिक्षा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा असहाय तथा अनाथहरुको सेवामा योगदान पुर्याउने सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायतलाईसम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ