सरकारले भडकीलो प्रचारबाजी गरेको भन्दै नेविसंघको विरोध
नारायण रिजाल,
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
497
Shares
बागलुङ । सरकारले सामाजिक सुरक्षा कार्यक्रम सुरु गरेका दिनमा भड्कीलो प्रचारबाजी गरेको भन्दै नेपाल विद्यार्थी संघ बागलुङले विरोध जनाएको छ । कार्यक्रम सुभारम्भको नाममा नेपालका ठूला पत्रपत्रिकाहरुमा भड्किलो विज्ञापन गरेर राज्यकोषको ढुकुटी सक्ने काम गरेको भन्दै नेविसंघले बागलुङमा विरोध प्रदर्शन गरेको हो । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रधानमन्त्री र श्रममन्त्रीको ठूलो तस्विर सहित कभर विज्ञापन छापिएकोमा नेविसंघले उक्त विज्ञापन छापिएको पत्रिकार सडकमा प्रदर्शन गरेर विरोध जनाएको छ ।
सरकारले जनताको समस्या समाधान गर्नुको साटो प्रचारबाजीमा रमाएको भन्दै नेविसंघले विरोध जनाएको नेविसंघ बागलुङका अध्यक्ष खड्क थापाले बताए । ‘जनताको समस्या एकातिर छ प्रधानमन्त्रीलाई पत्रिकामा ठूलो तस्विर छाप्नुपरेको छ, अध्यक्ष थापाले भने, पत्रिकामा ठुलो तश्विर छापेर बजेटको दुरुपयोग गर्ने काम भएको छ ।
राजधानी बाट प्रकाशन हुने ठूला पत्रिकाहरुमा करोडौं खर्चेर विज्ञापन गरेको छ,’ उनले भने, ‘जनपक्षीय कार्यक्रम गरेको खण्डमा हामीले स्वागत गर्छौं तर आफ्नो प्रचारका लागि राज्यकोषको ढुकुटी सक्ने कार्यप्रति हाम्रो गम्भीर आपत्ती छ ।’ थापाले यही प्रचार प्रसारका लागि मात्रै सरकारले साढ छ करोड रुपैयाँ सकेको समेत आरोप लगाए । सामान्य पारिश्रमिक पाउने व्यक्तिले यो कार्यक्रममा सहभागी हुन नसक्ने समेत उनले बताए ।‘निम्न वर्गीय श्रमिकहरुको ३० प्रतिशत तलब कटौती गरेर राज्यकोषमा जम्मा गर्ने निर्णयले सामान्य वर्गलाई अप्ठ्यारो हुने थापाले बताए ।
सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गर्न थालेको झण्डै १० वर्ष भइसकेको छ । कोषमा अहिले झण्डै २० अर्ब रुपैयाँ जम्मा भएको छ । नेविसंघका सचिव श्रीकृष्ण पौडेलले भने,‘योजना नै दश वर्षअघि सुरु भएपछि अहिले आएर केपी ओलीको नेतृत्वको सरकारले गरेको हो भन्ने भ्रम छर्नका लागि अति भद्दा शैलीमा प्रचारप्रसार गरिएको छ । सामाजिक सुरक्षा योजनाका परिकल्पना १० वर्षअघि भए पनि यसको ऐन अघिल्लो सरकारले ल्याएको पौडेलले बताए ।
दश वर्षदेखि जम्मा गरेको पैसा खर्चेर केपी शर्मा ओली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टका तस्वीर एवं पम्प्लेटहरु पोलदेखि पत्रिकासम्म र सामाजिक संजालदेखि अनलाइनसम्म छाएको विरोध जनाएको पौडेलले बताए । यसरी भद्दा प्रचार गरेर ओली सरकारले आफ्नो सरकारले सबैभन्दा ठूलो काम गरेको भनी देखाउन खोजेको प्रवृत्तिप्रति नेविसंघले विरोध जनाएको बताईएको छ ।