arrow

नेविसंघको १२औँ महाधिवेशन पुस २८ देखि

logo
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
NSU_NEW_Flag.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी संघको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस २८ देखि ३० गतेसम्म हुने भएको छ ।

नेविसंघले मंगलबार पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसंघलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए ।

कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने नेविसंघले जनाएको छ ।

तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेविसंघले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिए ।

नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले सशक्त नेविसंघ भए मात्र कांग्रेस बलियो हुने भन्दै कांग्रेस बलियो बनाउनका लागि नेविसंघको महाधिवेशन आवश्यक रहेको उल्लेख गरे। “महाधिवेशन गरे मात्र नेविसंघ सशक्त रुपमा अगाडि बढ्न सक्छ,” उनले भने । व्यवस्थित अधिवेशन सम्पन्न गर्न सबैको साथ र सहयोगको आवश्यक रहेको उनको भनाइ थियो ।

नेविसंघका केन्द्रीय सदस्य नवराज त्रिपाठी सङ्गठनलाई चुस्तदुरुस्त बनाउनका लागि महाधिवेशनले सहयोग पुग्ने बताउछन् । यसअघि कात्तिक १६ देखि १८ गतेसम्म महाधिवेशनको समय तोके पनि विधान र उमेरहद विवादका कारण नेविसंघको महाधिवेशन हुन सकेको थिएन । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ