असहाय बालबालिकालाई शिक्षाका लागि सहुलियत आवश्यक : पूर्व प्रधानमन्त्री नेपाल
प्रकाशित २०७५ मंसिर ११ मंगलबार
524
Shares
काठमाडौं। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले असहाय बालबालिकाका लागि शिक्षाका क्षेत्रमा सरकारले विशेष सहुलियत सहितको व्यवस्था गर्नु पर्ने बताएका छन। राजधानीमा मंगलबार ‘ज्योतिको घर नेपाल’को ९औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले असहाय बालबालिकाका लागि उच्च र प्राविधिक शिक्षा अध्ययनमा राज्यले विशेष सुविधा उपलब्ध गराउनु पर्ने बताएका हुन।
‘सहारा नभएका बालबालिकाहरु धेरै पछाडि परेका छन, सरकारले उनीहरुको अध्ययनका लागि शिक्षाका क्षेत्रमा विशेष व्यवस्था गर्नु आवश्यक छ,’ नेकपाका वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री नेपालले भने।
उनले सरकारले मंगलबारबाटै सुरु गरेको सामाजिक सुरक्षा कार्यक्रमले समेत असहाय बालबालिकाका धेरै सवालहरुको सम्बोधन गर्ने बताए। सहारा नभएका निम्न वर्ग र समुदायका मानिसलाई राज्यले हेर्नुपर्ने अवधारणा सो कार्यक्रममा रहेको नेपालले जनाएका हुन।
संविधानले प्रदत्त गरेका सबै मौलिक अधिकार कार्यान्वयन गर्न मुलुक समृद्ध हुनुपर्ने उल्लेख गर्दै नेता नेपालले हरेक नागरिकले अधिकारको खोजीसँगै जिम्मेवारी र दायित्व पनि बोध गर्नुपर्नेमा समेत जोड दिए।
कार्यक्रममा युरोपियन युनियनका प्रतिनिधि शिव भण्डारीले पिछडिएका बालबालिकाको अधिकार र शिक्षाका लागि राज्यले गर्नुपर्ने काम ‘ज्योतिको घर नेपाल’ ले गरेको उल्लेख गरे।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले अल्पसंख्यक तथा अनाथ बालकालिकाको शिक्षाका ज्योतिको घरले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। केन्द्रीय बाल कल्याण समितिका पूर्व अध्यक्ष डिल्लीराम गिरीले बालिबालिका, ज्येष्ठ नागरिक, महिला र असहाय नागरिकको सम्मान नभएसम्म मुलुकको उन्नती नहुने बताए।
नेपाली चलचित्रका महानायक राजेश हमालले सामाजिक र आर्थिक चुनौतीको सामना गरिरहेका बालबालिका प्रतिभा उजागर गर्न ज्योतिको घर नेपाल जस्ता समाजसेवी संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाए।
कार्यक्रममा साझेदार संस्था भेन्चर संयुक्त राज्य अमेरिकाका संस्थापक मेलोडी स्कूग, संस्थाका अध्यक्ष विजय लामा, संस्थापक अध्यक्ष राजु सुन्दासलगायतले मुलुकको उज्जवल भविष्यका लागि राज्यले बालबालिकाको शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिए।
‘ज्योतिको घर नेपाल’ संस्थाले वादी र चेपाङ समुदाय, भूकम्पपीडित, अनाथ गरी ५ सय ५५ बालबालिकालाई छात्रावासहित निशुल्क शिक्षा प्रदान गर्दै आएको छ।
कार्यक्रममा असहाय तथा अनाथहरुको सेवामा योगदान पुर्याउने सुदूरपश्चिम प्रदेशसभा सदस्य उमा वादी, आमाको घर नेपालका संस्थापक दिलशोभा श्रेष्ठलगायतलाईसम्मान गरिएको थियो।