नेविसंघको महाधिवेशन गराउन पार्टी लाग्यो, जिल्ला सभापतिहरुलाई यस्तो निर्देशन
प्रकाशित २०७५ मंसिर १३ बिहिबार
220
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ आसन्न १२ औं महाधिवेसनको तीब्र तयारीमा जुटेसँगै माउ पार्टी नेपाली काँग्रेसले समेत यसमा सक्रियता जनाएको छ । काँग्रेसले आफ्ना ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुलाई परिपत्र गरि आसन्न नेविसंघको महाधिवेशनलाई सफल बनाउन आवश्यक सहयोग र समन्वय गर्नको लागि निर्देशन दिएको छ ।
बिहीबार पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सो परिपत्रमा पौष २८ देखि ३० गतेसम्म गर्ने निर्णय भएको महाधिवेशनमा आवश्यक सहयोग र समन्वय गर्नको लागि निर्देशन दिईएको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिको गत ११ मंसिरमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको थियो ।
गत मंगलबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसंघलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताए ।
कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र देशभरका सबै मावि र उच्चमाविको अधिवेशन गरिसक्नुपर्ने, मङ्सिर २५ भित्र स्थानीय गाउँ नगरको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस ८ भित्र उपत्यकाभित्रका सबै क्याम्पस र विश्वविद्यालयको अधिवेशन गर्नुपर्ने, पुस १४ भित्र ७७ वटै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने, पुस २० भित्र सबै प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने र पुस २८ देखि ३० गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने नेविसंघले जनाएको छ ।
तोकिएको समय सीमाभित्र अधिवेशन सम्पन्न नगर्ने जिल्ला समिति स्वतः भङ्ग हुने र महाधिवेशन भाग लिन नपाउने नेविसंघले जनाएको छ । अध्यक्ष महरले निर्वाचन सम्पन्न गर्नका लागि बुधबारसम्म सबै जिल्ला तथा क्याम्पसमा प्रतिनिधि खटाइसक्ने जानकारी दिए ।