बिश्व एड्स दिवस : नयाँ एचआइभी संक्रमण दर ८० प्रतिशतले घटयो
प्रकाशित २०७५ मंसिर १५ शनिबार
774
Shares
काठमाडौं। एचआइभीको जाँच गराऔं, आफ्नो अबस्था थाहा पाऔं भन्ने नाराका साथ यस वर्षको विश्व एड्स दिवस मनाइदैछ। संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ मा एड्स दिवस मनाईन्छ। एड्स दिवस मनाउनुको उद्देश्य पनि यसै लक्ष्यबारे स्मरण गरी जनचेतना फैलाउनु, एड्स विरुद्ध हुने सवै खालका गतिविधिहरुबारे जानकारी आदान(प्रदान गर्दै यस रोगका कारण मृत्यु भएका मानिसहरुको सम्झना गर्नु हो।
सन् १९८८ यताको आँकडा विश्लेषण गर्दा चारमध्ये तीनजना एचआईभी संक्रमितलाई आफनो अवस्थाका बारेमा जानकारी छ तर युएनएड्सको रिपोर्टका अनुसार आफ्नो अवस्था थाहा नपाएका संक्रमितसम्म पहुँच पुर्याउन तथा उनीलाई गुणस्तरीय सेवा प्रदान गर्न अझै धेरै प्रयासको आवश्यकता रहेको औँल्याइएको छ। एड्स सबैभन्दा पहिले सन् १९८१ मा संयुक्त राज्य अमेरिकामा पत्ता लागेको थियो। नेपालमा सन् १९८८ अर्थात् वि.सं २०४५ सालतिर पहिलोपटक एचआईभी संक्रमण पत्ता लागेको थियो।
एचआईभी संक्रमणको उत्पत्ति मध्यपश्चिम अफ्रिकाका बाँदर र चिम्पान्जी हुँदै २०औँ शताब्दीको सुरुवाततिरै मानव जातिमा सरेको मानिन्छ। एचआईभी एड्स अहिले संसारकै लागि चुनौती बनेको छ। विधिवत रूपमा एचआईभी एड्स पत्ता लागेयता झण्डै साढे तीन करोड मानिसले ज्यान गुमाइसकेका छन्।
हालसम्म एचआईभी एड्स नियन्त्रण वा निको पार्ने कुनै औषधि पत्ता नलागिसकेको अवस्थामा युएन एड्सले सन् २०२० सम्म हासिल गर्नेगरी ९०–९०–९० को लक्ष्य तर्जुमा गरेको छ। विश्वव्यापी रूपमा नै महत्वाकांक्षी मानिएको यो लक्ष्य हासिल गर्न निकै चुनौतीपूर्ण मानिएको छ।
एचआईभी एड्सको हालसम्म कुनै औषधि वा खोपको आविष्कार भइसकेको छैन विधिवत् रूपमा यो रोग पत्ता लागेको झण्डै ४० वर्ष भइसके पनि हाल उपलब्ध औषधि तथा उपचारले रोगीको दीर्घकालीन उपचार सम्भव नभएर थामथुम मात्र भइरहेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को पछिल्लो आँकडाअनुसार संसारभरि तीन करोड ६९ लाख मानिस एचआईभीबाट संक्रमित वा पीडित छन, जसमध्ये १८ लाख मानिस सन् २०१७ मा मात्र संक्रमित भएका हुन्। सन् २०१७ मा मात्र संसारभरि झण्डै १० लाख मानिसले एचआईभी एड्सका कारण ज्यान गुमाएको डब्लुएचओको तथ्यांक छ।
सन् १९८० यता हालसम्म विश्वभरिका झण्डै आठ करोड मानिस यस रोगबाट संक्रमित छन् भने हालसम्म साढे तीन करोडभन्दा बढी व्यक्तिले ज्यान गुमाइसकेको युएन एड्सको तथ्याँकले जनाउँछ। एचआईभी एडसबाट एकै वर्षमा सबैभन्दा बढी मृत्यु सन् २००४ मा भएको थियो, त्यतिबेला एक करोड ९० लाख मानिसले ज्यान गुमाएका थिए। विश्वव्यापी रुपमा सन् २०३० भित्र एड्सलाई अन्त्य गर्ने लक्ष्य अनुसार सवै राष्ट्रहरु विभिन्न रणनीति सहित गरिरहेका छन्
नयाँ संक्रमण दर घट्दै
नेपालमा एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको छ। सन् २०१० को तुलनामा २०१७ मा एचआइभी संक्रमण दर ८० प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले बताएको छ। सन् २०१७ सम्म नेपालमा ३० हजारभन्दा बढी मानिस एचआईभी संक्रमणबाट पीडित छन।
नयासंक्रमण दर पनि ८ सयमा झरेको छ। नेपालमा सबैभन्दा बढी प्रदेश ५ मा एचआइभि संक्रमित पाइएको तथ्यांक छ। अहिले बार्षिक मृत्युदर पनि घटेर १२ सयको हाराहारीमा मृत्यु हुने गरेको छ। एचआईभी एड्सबाट पीडित हुने तथा यस रोगबाट मृत्यु हुने अवस्था कमी आए पनि यस रोगलाई नियन्त्रणमा लिन भने सकिएको छैन।
सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रुपमा एड्सका कारणले मृत्यु हुने संख्यामा ४८ प्रतिशतले कमी आएको छ। यस्तै, संक्रमितको संख्या पनि ११ प्रतिशतले घटेको पाइएको छ। नेपालमा सन् १९८८ मा पहिलो पल्ट एकजना मानिसमा एचआइभी एड्स फेला परेकोमा अहिले यसबाट करिब ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेको कुरा विभिन्न तथ्यांकहरुले देखाएका छन्।
हाल नेपालमा एचआइभी संक्रमितको संख्या भने घट्दै गएको तथ्यांक छ तर संक्रमितहरु खुलस्त नहुँदा वास्तविक तथ्यांकअझै स्पष्ट हुन सकेको छैन। नेपाल सरकारले घोषणा गरेको एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिमा सन् २०१६ सम्म नयाँ संक्रमण दरलाई घटाएर ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ भने मृत्युदर २५ प्रतिशत र नवजात शिशुमा हुने संक्रमणलाई ९० प्रतिशत घटाउने लक्ष्य छ।
प्रिभिलेज रेट एक प्रतिशत भन्दा कम
नेपालमा एचआईभीको संक्रमण सुइद्वारा लागूपदार्थ सेवन गर्ने, यौन व्यवसायी तथा ग्राहक, समलिङ्गी, वैदेशिक रोजगारीबाट फर्केका पुरुष कामदार तथा कैदीहरूमा बढी रहेको एड्स तथा एचआईभी नियन्त्रण राष्ट्रिय केन्द्रको तथ्यांक छ। नेपालमा एचआइभी संक्रमण प्रिभिलेज रेट १ प्रतिशत भन्दा कम भएपनि यी समुहमा ५ प्रतिशत भन्दा बढी रहेको तथ्यांक छ।
कसरी सर्छ ?
एचआईभीसंक्रमितसंग असुरक्षित यौन सम्पर्कबाट, एचआइभी संक्रमित रगत, सुईको साझाप्रयोगबाट, संक्रमित आमाबाट जन्मेको बच्चामा एचआइभि संक्रमण सर्ने सम्भावना अत्यधिक छ।
लक्षण के देखिन्छ ?
अकस्मात् ज्वरो आउनु, घाँटीमा समस्या, छालामा घाउ–खटिरा, टाउको दुख्नु, पेटमा गडबडी आदि जस्ता एचआईभी संक्र्रमणका प्रारम्भिक लक्षण हुन्छन्। संक्रमण बढ्दै गएपछि प्रतिरोधात्मक शक्ति कमजोर भएपछि पखाला लाग्नु, तौल घट्नु आदिजस्ता लक्षण देखिँदै जान थाल्छन्।
उपलब्ध सेवा
एचआइभी संक्रमितहरुलाई पुर्ण निको बनाउन नसकिए पनि एन्टिरेट्रोभाइरल थेरापीमार्फत उनीहरुको आयु बढाउन सकिन्छ। हाल नेपालमा एचआइभी संक्रमितहरुले एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्दै आएका छन्। नेपालमा ४४ वटा केन्द्रहरु मार्फत संक्रमितहरुलाई निशुल्क एन्टिरेक्ट्रोभाइरल उपलब्ध गराइदै आएको छ।