प्रधानमन्त्रीले विदेशी राष्ट्र प्रमुखहरुलाई भने, 'नेपालमा कानूनी राज्य छ'
प्रकाशित २०७५ मंसिर १५ शनिबार
534
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्या प्रकरण भुलेर विश्वलाई नेपालको कानूनी राज्यको ब्रिफिङ गरेका छन् । केही देशका राष्ट्रप्रमुखको सहभागितामा राजधानीमा चलिरहेको एशिया प्रशान्त शिखर सम्मेलनमा बोल्दै प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाकाको बयान गरेका हुन् ।
विश्वका केही देशका राष्ट्रप्रमुखहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति र नेपालको कानूनी राज्य बारे सुनाईरहँदा माईतीघर मण्डलामा भने उनकै विरुद्ध चर्काे नाराबाजी भईरहेको थियो ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाएर कारबाही गर्नुको सट्टा उल्टै विरोध प्रदर्शन र निर्मला पन्तको बारेमा पर्चा पम्प्लेट र सरकारी सञ्चार माध्यममा समाचारको प्रतिबन्ध लगाएर कानूनी राज्यको भाषण गरिरहँदा झण्डै साढे २ सयको संख्यामा रहेका अभियान्ताहरुले निर्मला पन्तको न्यायको लागि भीख मागिरहेका थिए । प्रधानमन्त्रीको सो भाषण बारे टिप्पणी गर्दै विरोध प्रदर्शनमा उपस्थितहरु प्रधानमन्त्रीले नेपालमा कानूनी राज्य छ भनेर विश्वलाई ढाँटेको आरोप लगाईरहेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको एशिया प्रशान्त शिखर सम्मेलनका क्रममा विश्वका विभिन्न देशबाट आएका नेताहरुले नागरिकको आकाङ्क्षा र बदलिँदो विश्व परिवेशलाई समेत आत्मसात् गरेर समान धारणा र कार्यक्रमका साथ अगाडि बढे विश्वका साझा समस्याबाट मुक्त पाउन सकिने भन्दै पछिल्लो दिनमा जलवायु परिवर्तन, आतङ्कवाद, मानव तस्करी पनि विकराल समस्याका रुपमा देखा परेको तथ्य औल्याएका थिए । उनीहरुले एकल प्रयत्नबाट मात्रै ती समस्याको निरुपण नहुने भएकाले एकार्का देशबीच सहकार्य जरुरी रहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ुहाम्रो उद्देश्य भनेको समग्र लोकतन्त्र हो जसले व्यक्ति र राष्ट्रिय जीवनलाई सामाजिक तथा आर्थिक न्यायका साथै सबै अधिकार तथा स्वतन्त्रतामा सबल बनाउँछ । प्रतिस्पर्धात्मक बहुदलीय प्रजातन्त्र, कानूनी राज्य, स्वतन्त्र न्यायपालिकाका साथ हामीसँग सबैभन्दा राम्रो संविधानमध्ये एक छ भन्ने म विश्वास गर्छु । नेपालको इतिहासमा पहिलो पटक संविधानले जनतालाई वास्तवमै सार्वभौम बनाएको छ र अब हामीले राजनीतिक रुपमा थप सङ्घर्ष गर्नु पर्र्दैन, यसले नेपाली जनताका लागि नयाँ युग उपलब्ध गराएको छ ।’
प्रधानमन्त्रीले यसरी नागरिक सर्वाेच्चता र कानूनी राज्यको वकालत गरिरहँदा माईतीघरमा भने उनी विरुद्ध चर्काे नाराबाजी भईरहेको थियो । एउटी बालिकाको बलात्कार पछि हत्या भएको ४ महिनासम्म पनि दोषी समात्न तर्फ सरकार उदासिन बनेपछि आलोचित बनेका प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले झनै निर्मला पन्तको समाचारमा सेन्सर लगाउने र पोस्टर टाँस्नेलाई समेत पक्राउ गर्न थालेपछि भने सरकारको झनै आलोचना हुन थालेको छ ।
न्यायको माग गर्दै शुक्रबार पोस्टर टाँसेको विरोधमा प्रहरीले १२ जनालाई पक्राउ गरेपछि शनिबार स्वतस्फूर्त रुपमा माईतीघरमा स्वतन्त्र नागरिकहरु उपस्थित भएका हुन् । यसमा केहीले नयाँशक्ति पार्टी नेपालको व्यानर समेत लिएर आएका थिए ।
दिउँसो १२ बजे स्वतस्फूर्त रुपमा भेला भएका उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र नेपाल प्रहरी विरुद्ध चर्को नाराबाजी गरेका छन् । उनीहरुले प्रहरी पनि राजनीतिक दलका नेताहरु जस्तै विकेको भन्दै विरोध गरेका हुन् । उनीहरुले ुनेताबाट सिकेछ प्रहरी पनि बिकेछु भन्दै नारा लगाएका छन् । उनीहरुले गृहमन्त्री थापाको राजीनामा समेत माग गरेका थिए ।
शुक्रबार मात्रै निर्मलाको न्यायको लागि पोस्टर टाँस्ने क्रममा माईतीघर मण्डलाबाट ३ जना पुरुष र ९ जना महिलालाई पक्राउ गरेको थियो । बृत्तका अधिकारीहरुका अनुसार गृहमन्त्रालयबाट नै निर्मला पन्तको विषयमा पर्चा पम्प्लेट टाँस्नेलाई पक्राउ गर्नु भन्ने आदेश रहेकोले यस्तो गरिएको हो । पक्राउ परेका १२ जनालाई कहिले हिरासत मुक्त गराईन्छ रु भन्ने विषय अहिले नै जानकारी दिन नसकिने बृत्तका प्रहरीअधिकारीहरुले जनाएका छन् ।
यस अघि सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकूल बाँस्कोटाले निर्मला पन्तको विषयमा सरकारी सञ्चारमाध्यमहरुमा कुनैपनि सामग्री प्रकाशन तथा प्रशारण नगर्न निर्देशन दिएको समचार बाहिर आएको थियो । यसमा सञ्चारमन्त्री बास्कोटाले आपत्ति जनाएको भएपनि त्यसपछि समेत सरकारी सञ्चारमाध्यमहरुले यस्ता सामग्रीहरु प्रस्तुत गरेका छैनन् ।