काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई हाम्रो पार्टी नेपालमा आवद्ध हुन आग्रह गरिएको छ। शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहोराले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो पार्टीमा आवद्ध हुन आग्रह गरेका हुन्। उनले पूर्व राजा ज्ञानेन्द्रलाई पनि राजसंस्थाको वकालत चीन र भारतमा गएर नगर्न चेतावनी दिए। ब्रम्हाण्डले भने,‘पूर्वराजा ज्ञानेन्द्रले राजसंस्थाकै वकालत गर्ने हो भने चीन र भारत जानुको साटो नेपाली जनताहरुको बीचमा गएर गरुन्।’
मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ। उक्त पार्टीले यस्तो नीति तथा संर्घषका कार्यक्रमहरु अघि सारेको हो। उसले संघीयता र धर्मनिरपेक्षताले मुलुकलाई नै सिध्याउने भन्दै यी दुईलाई आणविक बमको संज्ञा दिएको छ।
कार्यक्रममा बोल्दै पार्टीका संयोजक गोविन्द बोहोरा ‘ब्रम्हाण्ड’ले आफूहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली शासन व्यवस्था हुनुपर्ने माग गर्दै आएको सुनाए। उनले भने,‘नेपालको पहिचान हिन्दूराष्ट्र नै हो। त्यसैले अविलम्व हिन्दूराष्ट्र कायम गरिनुपर्छ। अर्को, संघीयताको विकल्पमा जनताको घर आँगनमा अधिकार निक्षेपीकरण हुनुपर्छ।’
हराएको नेपाल खोज्न र लुकाईएको नेपाल खोस्नको लागि पनि ज्ञानेन्द्र आफ्नो पार्टीमा आउनुको विकल्प नरहेको उनको जिकिर छ। पूर्वराजा ज्ञानेन्द्रले अहिलेकै चरित्र प्रर्दशन गरिरहे उनीमाथि वैधानिक विद्रोहसमेत गरिने उनले चेतावनी दिए।
आजबाट सूरु भएको एशिया प्यासिफिक समिट–२०१८ को पनि संयोजक ब्रम्हाण्डले विरोध गरे। पूर्वीया सभ्यता सिध्याउनकै लागि उक्त समिट नेपालमा आयोजना गरिएको उनको गम्भिर आरोप छ।