निर्मलाको हत्यारा पक्राउ नगरेको भन्दै विरोध प्रदर्शन, प्रहरीद्वारा धरपकड
प्रकाशित २०७५ मंसिर १५ शनिबार
412
Shares
विराटनगर । सरकारले निर्मला पन्तको हत्यारा पक्राउ गरि कार्वाही गर्न नसकेको भन्दै विराटनगरमा यूवा समूहले विरोध प्रदर्शन गरेको छ। विराटनगरको मुटु मानिएको ट्राफिक चौकबाट युथ कांग्रेस र यूवा अभियानले संयुक्त रुपमा आयोजना गरेको विरोध प्रदर्शनीका क्रममा नाराबाजीसहितको र्यालीको आयोजना गरेको थियो।
सो क्रममा ट्राफिक चौकबाट सुरु भएको र्याली मुख्य बजारहुदै जिल्ला प्रशासन कार्यालय मोरङ्गमा पुगेर कोण सभामा परिणत भएको थियो। यसबीच र्यालीमा यूवाहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थिए। उनीहरुले सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको, निर्मला पन्तको हत्या पक्राउ गर्न नसकेको र पीडित परिवारलाई न्याय दिन नसकेको अरोपसहित नाराबाजी गरेका थिए।
र्यालीका क्रममा प्रदेश नम्बर एकको प्रदेश सभा बैठक भवन अगाडि प्रहरीले र्यालीमाथि धरपकड गरेको थियो। भवन नजिक रहेको देवकोटा चौउमा यूवाहरुले सरकार भेटियो न्याय भेटिएन लेखिएको पोष्टर टास्ने क्रममा प्रहरीले धरपकड गरेको नेपाल विद्यार्थी संघका सह महामन्त्री कृष्ण कार्कीले बताए। उनले भने, त्यहा प्रहरीले धरपकड गर्यो, त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पोष्टर टास्ने क्रममा प्रहरीले पुनः पोष्टर खोस्ने काम गर्यो ।
दुइ तिहाइको सरकार पीडित परिवारलाई न्याय दिलाउने भन्दापनि दमन गर्नेतर्फ उन्मुख भएको छ, सहमहामन्त्री कार्कीले भने।
प्रहरीले प्रशासन कार्यालयमा घरपकड गरेपछि र्याली कोणसभामा परिणत भएको थियो। जहा सो र्यालीमा युवाहरुले निर्मला पन्तका अभियुक्तलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाएका थिए।