arrow

आदर्शपुरुष भीमबहादुर तामाङको शालिक अनावरण

logo
प्रकाशित २०७५ मंसिर १५ शनिबार
Bhim-Bahadur-Tamang1.jpg

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आदर्शपुरुष स्व भीमबहादुर तामाङको शालिक अनावरण गरिएको छ ।

भीमबहादुर तामाङ स्मृति तथा विकास केन्द्रको सक्रियतामा स्वयम्भूमा निर्माण भएको शालिकको तामाङको छैटौँ स्मृति दिवसका अवसरमा आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले अनावरण गरे। कार्यक्रममा अध्यक्ष तिमल्सिनाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा स्व भीमबहादुर तामाङको महत्वपूर्ण योगदान रहेको बताए। मुलुकलाई समृद्धिको बाटोमा लगेमात्र तामाङप्रति सच्चा श्रद्धाञ्जलि हुने उनको भनाइ थियो ।

अध्यक्ष तिमल्सिनाले संविधान कार्यान्वयनका लागि दलबीच एकताको खाँचो रहेको बताए । “जसरी संविधान निर्माणमा दलबीच एकता देखियो त्यसरी नै कार्यान्वयनमा पनि एकता हुनु आवश्यक छ”, उनले भने। कांग्रेसका सांसद जीपछिरिङ लामाले तामाङले मुलुक विकासका लागि पुर्‍याएको योगदानलाई सरकार र कांग्रेसले बिर्सेको बताए। “भीमबहादुर तामाङलाई सम्झनाका लागि उहाँको स्मृतिमा विभिन्न कार्यक्रमलाई अगाडि बढाउनुपर्छ”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दोलखाका नेता वसन्त कार्कीले दोलखाको विकासमा तामाङको योगदान अतुलनीय रहेको बताए । “दोलखावासी सबैलाई आफन्त र आफ्नो ठान्ने नेता तामाङ हुनुहुन्थ्यो”, उनले भने ।

कांग्रेस दोलखाका पूर्वपार्टी सभापति उद्धवराज काफ्लेले तामाङले देखाएको बाटोमा हिँड्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । काठमाडौँ महानगरपालिका–१५ का वडा अध्यक्ष ईश्वरमान डङ्गोल, समाजसेवी मञ्जु लामालगायतले तामाङको सादा जीवन उच्च विचारलाई सबैले पछ्याएर अगाडि बढ्नुपर्नेमा जोड दिए । सोही अवसरमा तामाङको सम्झनामा स्थापना गरिएको छोर्तेन (स्तूपा) उद्घाटनसमेत गरिएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ